


अत्तरिया- सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा संविधान दिवस मनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नगर प्रहरीको बाजागाजा सहितको टोलीले धनगढीको सहिद गेटबाट प्रभातफेरी निकाल्दै दिवस मनाएको हो ।


प्रभातफेरिमा विभिन्न विद्यालयका विद्यार्थीहरू, संघसंस्थाका पदाधिकारीहरू, विभिन्न झाँकी सहित प्रभातफेरिको आयोजना गरिएको थियो । प्रभातफेरी पछि प्रदेश प्रमुख नजीर मिँयाले आन्तरिक मामिला मन्त्रालयको परिसरमा झन्डोत्तोलन गरेर संविधान दिवस समारोहको उद्घाटन गरेका थिए । झन्डोत्तोलन पूर्व प्रदेश प्रमुख मियालाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।



संविधान दिवस मूल समारोह समितिका अध्यक्ष तथा मुख्यमन्त्री कलम बहादुर शाहले अझै पनि केन्द्रिकृत मानसिकताका कारण प्रदेशहरू बलियो हुन नसकेको बताए । उनले संघ सरकारमा बसेकाहरूले प्रदेशका अधिकार प्रत्यायोजनमा चासो नलिएका कारण प्रदेशको विकासमा समस्या भइरहेको बताए ।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिका संयोजक समेत रहेका मुख्यमन्त्री शाहले संघले प्रदेशका अधिकार पूर्ण रुपमा प्रत्यायोजन नगर्दा सम्म जनताको अपेक्षा अनुसार काम गर्न नसकिने बताए । उनले सुदूरपश्चिमका जनताका विकासको तिव्र चाहना अनुसार सरकार काम गर्ने बताए । ‘सुदूरपश्चिम प्रदेशका नागरिकको मुहारमा विकास र समृद्धिको सुख दिन हामीले अझै धेरै काम गर्न बाँकी छ । यसका लागि सबै पक्षका साथ र समर्थन लिँदै जनअपेक्षित काममा सरकार लाग्नेछ’ उनले भने ।
यस्तै सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधान दिवसले दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्किन प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख मियाँले संघर्ष र बलिदानको प्रतिफल स्वरूपले नेपालमा संविधान जारी भएको स्मरण गरेका छन् ।
‘नेपाली जनताले पटक पटक गर्दै आएको संघर्ष र बलिदानको प्रतिफल स्वरूप ऐतिहासिक संविधानसभा मार्फत २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप आज हामी संविधान दिवस मनाइरहेका छौँ’ प्रदेश प्रमुख मियाँले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । प्रदेश प्रमुख मियाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् ।





