

अत्तरिया- कैलालीको जिल्ला कारागार भित्रै एक थुनुवाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ४ का २२ वर्षका दीपक विकको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।


दिउँसो करिब ३ बजेतिर शौचालयमा लडेको अवस्थामा भेटिएका दीपकलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । करिब ६ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए ।


प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र अहिले नै के कति कारणले मृत्यु भएको हो भनेर भन्न नसकिने बताए पनि दीपकका आफन्तहरूले भने कारागार प्रशासनको लापरबाहीले उनको ज्यान गएको आरोप लगाएका छन् ।

कारागारको लापरबाहीका कारण आफ्नो भाइले ज्यान गुमाएको उनका अङ्कल नेत्र पहराईले बताए । ‘आज दिउसो १२ बजेसम्म पनि कुरा भएको थियो । ३ बजेतिर बिरामी भएको भन्दै फोन आयो अस्पताल पुग्दा त मृत्यु भइसकेको थियो ’ उनले भने, ‘कारकार भित्रै रहेको एउटा व्यक्तिको एक्कासि कसरी मृत्यु हुन्छ यो रहस्यमय घटना छ ।’
केही समय पहिले बहिनी नाता पर्ने नाबालिगलाई दीपकले विवाह गरेर भारतको बेंग्लोर लगेका थिए । दीपककै आफन्तले उनीहरु दुबैलाई घर बोलाएपछि २०८० माघ ७ दीपक विरुद्ध किशोरीका आफन्तले इलाका प्रहरी कार्यालय सुखडमा मुद्दा दिएका थिए । दाइ बहिनी नाता पर्नेबिच हाड जोर्नी करणीमा मुद्दा दायर भएपछि दीपक कारागार चलान भएका थिए ।
प्रहरीले ‘खोकी लागेको थियो ,औषधी खाएपछि बमिट भएको हो’ भन्दै आफन्तलाई खबर गरेपछि धेरैले विष सेवन गरेको आशङ्का गरेका छन् । तर, प्रहरीले भने त्यस विषयमा पोष्ट मार्टम रिपोर्ट आएपछि मात्रै भन्न सक्ने बताएको छ ।
यसअघि पनि कैलाली कारागार भित्रै थुनुवाको मृत्यु भइरहेको घटना सार्वजनिक हुने गरेको थियो । तर, त्यसमा ठोस अनुसन्धान नहुँदा कारागार भित्रै किन थुनुवाको मृत्यु हुन्छ भन्ने बारे तथ्य बाहिरिएको छैन ।