

अत्तरिया- कैलालीको अत्तरियामा रहेको अत्तरिया सामुदायिक सिकाई केन्द्र (सिएलसि) ले बालविकास केन्द्रका बालबालिकाका लागि नृत्य प्रतियोगिताको आयोजना गरेको छ । आज ६० औं बाल दिवसको अवसर पारेर केन्द्रले नृत्य प्रतियोगिता सम्पन्न गरेको हो ।


प्रतियोगितामा सुनिता नागरीले प्रथम स्थान हासिल गरेकी छिन । प्रथम भएसँगै उनले नगद सात सय रुपैयाँ पाएकी छिन् ।


त्यस्तै दित्तिय भएकी निशा चौधरीले ६ सय रुपैयाँ पुरस्कार पाएकी छिन् भने नवराज भुलले तृतीय स्थान हासिल गरी ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा बोल्दै सिएलसिका अध्यक्ष टिकादत्त जोशीले बालबालिकाका हक सुनिश्चित गर्ने उद्देश्यले बाल दिवसलाई लक्ष्यित गरी प्रतियोगिताको आयोजना गरिएको बताए । प्रतियोगितामा गोदावरीका तीन विद्यालयका बालबालिकाले सहभागिता जनाएका थिए ।

राष्ट्रिय बाल दिवस आज देशभर नै विभिन्न कार्यक्रम गरी नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन गरेको थियो । सोही अनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको हो । २०२१ साल देखि तत्कालीन रानी रत्नको जन्मदिन भदौ ४ गते देखि मनाउन शुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालिएको हो ।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो।
संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिता जस्ता विषय समेटी सर्वांगीण विकासको प्रत्याभूत गरेको छ ।
संयुक्त राष्ट्रसंघीय बालअधिकार सम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धता अनुरूप सरकारले बाल अधिकार सम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।