जनकपुरधाम- गृहमन्त्री रमेश लेखकले संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयन नभए मुलुक संकटमा फस्ने बताएका छन्।




शुक्रबार जनकपुरधाममा जिल्ला प्रशासन कार्यालय धनुषाको नयाँ भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक अस्थिरता, आर्थिक समृद्धि र शिथिल भएको अर्थतन्त्रलाई क्रियाशील बनाउन कांग्रेस–एमाले मिलेको बताएका हुन्। कांग्रेस र एमाले पहिलोपटक मात्रै नमिलेको बताए। ‘कांग्रेस(एमाले पहिलोपटक मिलेको होइन। यसअघि पनि मुलुकमा भएका विभिन्न समस्यालाई सम्बोधन गर्दै अगाडि बढाउने काम भएको छ,’ गृहमन्त्री लेखकले भने ।


गृहमन्त्री लेखकले ‘संसदमा कुनै पनि दलको बहुमत भएन। साना–साना दल मिलेर बनेको सरकार अस्थिर रह्यो। संघमा सरकार फेरिपछि सातै प्रदेशमा सरकार फेरिने परिपाटी बन्यो । त्यसैले कांग्रेस–एमाले मिलेर स्थिर सरकार बनाएका हौँ।
उनले १८ वर्षदेखि निष्कर्षमा पुग्न नसकेकीरहेको संक्रमणकालीन न्यायसम्बन्धी विषय कांग्रेस र नेकपा एमाले एकठाउँमा उभिँदा निष्कर्षमा पुर्याउन सफल भएको स्पष्ट गरे। गृहमन्त्री लेखकले छोटै समयमा समीकरण बन्ने र भत्किने हुँदा देशले राजनीतिक रुपमा स्थायित्व नपाएकोले आफूहरूले विकल्प खोजेको पनि प्रष्ट पारे।




