धनगढी उपमहानगरले त्रिनगर माविको सटरको ठेक्का आफै गर्दा आम्दानी ४६ लाखले वृद्धि

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले सटहरूको ठेक्का गरेपछि त्रिनगर माध्यमिक विद्यालयको आम्दानी दोब्बर भन्दा बढीले बढ्ने भएको छ। धनगढी उपमहानगरपालिका–१ मुख्य बजार क्षेत्रमा रहेका सटहरूको उपमहानगरपालिकाले ठेक्का आह्वान गरेपछि विद्यालयको आम्दानी दोब्बरले बढ्ने देखिएको हो ।

विद्यालय व्यवस्थापन समिति र राजनीतिक दलका प्रतिनिधिहरूको मिलेमतोमा भाडामा लगाइएका सटहरूबाट यस अघि वार्षिक ३९ लाख ६१ हजार ९ सय २० रुपैयाँ आम्दानी हुँदै आएकोमा अब ८५ लाख ३५ हजार २६५ रुपैयाँ नयाँ भाडादर कायम गरिएको छ । धनगढी उपमहानगरपालिकाले सटरहरू र जग्गाको ठेक्का गर्दा त्रिनगर माध्यमिक विद्यालयको आम्दानी वार्षिक रूपमा झन्डै ४६ लाखले वृद्धि हुने देखिएको छ ।

Navadurga sun

जग्गाको वार्षिक भाडा १३ लाख ५८ हजारले वृद्धि
त्रिनगर माध्यमिक विद्यालय, धनगढीको ९ दशमलव ६ कट्टा जग्गाको मासिक भाडा १३ हजार तीन सय ५० रुपैयाँ थियो । वि-पोलिटेक्नीकबाट विद्यालयले वार्षिक १ लाख ६० हजार २ सय रुपैयाँ जग्गा भाडा वाफत पाउने गरेको थियो ।

तर, उपमहानगरपालिकाले जग्गा र सटरहरूको नयाँ ठेक्का गरेपछि सो जमिनको मासिक भाडा नै एक लाख २६ हजार ५ सय रुपैयाँ कबुल गरिएको छ । अनुप कुमार चन्दले ९ दशमलव ६ कट्टा जग्गाको वार्षिक १५ लाख १८ हजार रुपैयाँ विद्यालयलाई बुझाउने भएका छन् ।

सो विद्यालयले जग्गाको पुरानो भाडा भन्दा वार्षिक १३ लाख ५७ हजार ८ सय रुपैयाँ बढी आम्दानी गर्ने भएको छ । विद्यालयको जग्गाको भाडा वार्षिक रुपमा १३ लाख ५७ हजारले बढ्ने देखिएको छ। प्रधानाध्यापक भूपाल सिंह खड्काले भने, ‘पहिलाको भाडादर कम थियो । वि-पोलिटेक्नीकको १३ हजार तीन सय ५० थियो। अहिले बढेको छ ।’

सटरमा हुने राजनीतिको अन्त्य
विद्यालय व्यवस्थापन समिति र राजनीतिक दलहरूका प्रतिनिधिहरूको मिलेमतोमा त्रिनगरको जग्गा र सटहरू यसअघि भाडामा दिने गरिएको थियो । तर, धनगढी उपमहानगरपालिकाले २०८१ साउन १४ गते सूचना गरेसँगै सटरहरूका लागि हुने राजनीति अन्त्य भएको दाबी गरिएको छ ।

त्रिनगर माविका प्रधानाध्यापक खड्काले विद्यालय व्यवस्थापन समिति र राजनीतिक दलहरूका प्रतिनिधिको बैठकको निर्णयका आधारमा सटहरू भाडामा दिने गरेको बताए । खड्काले भने, ‘उपमहानगरपालिका, विशेष गरेर मेयर सापको पहलमा, कार्यपालिकाको बैठकले विद्यालयको नाममा रहेका सटरहरू, जग्गा र तालहरूलाई भाडामा दिने र विद्यालयलाई सक्षम बनाउने नीति छ । सो नीति अनुसार त्रिनगरलाई धेरै फाइदा भएको छ । सम्झौता कानुन अनुसार पनि भयो । पहिला व्यवसाय गरेको आधारमा राजनीतिक दलहरूको सहमतिमा भाडामा दिने गरेका थियौ । त्यो कानुनी प्रक्रिया पनि थिएन ।’

विद्यालयले सटहरू र जग्गाको भाडाबाट मासिक तीन लाख ३० हजार दुई सय रुपैयाँ मात्र आम्दानी गर्दै आएको थियो । उपमहानगरपालिकाले हालै मात्र स्वीकृत गरेको नयाँ भाडा अनुसार मासिक ७ लाख ११ हजार २७२ रुपैयाँ आम्दानी हुने भएको छ । उपमहानगरपालिकाले ठेक्का गरेपछि विद्यालयले वार्षिक ८५ लाख ३५ हजार २६५ रुपैयाँ आम्दानी गर्ने देखिएको हो ।

पाँच सटर भाडामा गएनन्
धनगढी उपमहानगरपालिकाले ठेक्का मार्फत ३० वटा सटर र ९ दशमलव ६ कट्टा जग्गा भाडामा दिँदा विद्यालयलाई मासिक ३ लाख ८१ हजार ७२ रुपैयाँ बढी आम्दानी हुने देखिएको छ । मासिक ३ लाख ३० हजार २ सय रुपैयाँ आम्दानी हुँदै आएकोमा उपमहानगरपालिकाले ठेक्का गरेपछि मासिक ७ लाख ११ हजार २७२ रुपैयाँ आम्दानी हुने देखिएको हो ।

विद्यालयले वार्षिक ४५ लाख ६२ हजार ८८५ रुपैयाँ बढी आम्दानी गर्ने भएको छ विद्यालयका ३० मा पाँच सटहरू अझै भाडामा गएका छैनन् । ३५ वटै सटर भाडामा गए आम्दानी अझै वृद्धि हुने छ ।

विद्यालयको आन्तरिक आम्दानी वृद्धि भए भौतिक संरचनाहरू तथा उपकरणहरू खरिद गर्ने योजनामा विद्यालय छ । विद्यालयका प्रधानाध्यापक खड्काले विद्यार्थीको अनुपातमा संरचनाहरू नरहेको बताए । उनले भने, ‘विद्यालयको आम्दानीको स्रोत बढेको छ । २४ सय विद्यार्थी छन् । ११ र १२ मा मात्र १४ सय बढी छन् ।

एकै पटक विद्यालय चलाउन सकेका छैनौ ।’ धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरूको सम्मति कानुनी प्रक्रियाबाट भाडामा दिन थालेको छ । विद्यालयका भौतिक सम्पत्ति प्रक्रियाबाट भाडामा दिए असुल गर्नसमेत सहज हुने उपमहानगरपालिकाको दाबी छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...