

धनगढी- सुदूरपश्चिममा उमेर नपुग्दै विवाह गर्नेको संख्या बढ्दै गएको छ । उमेर नपुग्दै विवाह गरिएको भन्दै वर्षेनि प्रहरीमा समेत उजुरी पर्ने गरेका छन् ।


आर्थिक वर्ष २०७८/७९ मा बालविवाहका पाँचवटा उजुरी प्रहरीमा दर्ता भएका थिए । कैलालीमा एक, दार्चुलामा २, डडेल्धुरामा एक र कञ्चनपुर प्रहरीमा एक गरेर बालविवाहका पाँचवटा उजुरी दर्ता भएका छन् । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा कैलाली प्रहरीमा २, बैतडीमा एक र कञ्चनपुर प्रहरीमा २ गरेर उमेर नपुग्दै विवाह गरिएको भन्दै पाँचवटा मुद्दा दर्ता भएका छन् ।



बालविवाह वर्षेनि बढ्दो क्रममा देखिएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा बालविवाह सम्बन्धी उजुरीको संख्या बढेको छ । सो अवधिमा बाजुरा र डोटीमा एक/एक, कैलालीमा तीन तथा बैतडी र डडेल्धुरा प्रहरीमा एक/एक गरेर बालविवाहका ७ वटा उजुरी दर्ता भएका छन् । तीन वर्षको अवधिमा बालविवाह सम्वन्धि १७ उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
बालविवाह गराउनेलाई ३ देखि ५ वर्षसम्मको सजाय हुने कानुनी प्रावधान रहेको छ। सामाजिक सञ्जालको सही प्रयोग हुन नसक्दा बालविवाहका घटनाहरू बढ्दै गएको प्रहरी अधिकृतहरूको अनुभव छ । अभिभावकहरूले आफ्ना छोराछोरीलाई सामाजिक सञ्जालको सही प्रयोगबारे जानकारी दिन नसक्दा यस्तो समस्या बढ्दै छ ।
मातृ तथा बाल स्वास्थ्य सम्बन्धी समस्याहरू न्यून गर्न बालविवाह रोक्नु आवश्यक रहेको अधिकारकर्मीले बताउँदै आएका छन् । बालविवाहका कारण कलिलै उमेरमा आमा बन्नेको संख्या समेत बढ्दै छ । यसले आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पर्ने चिकित्सकहरुले बताएका छन् ।