


अत्तरिया- सुदूरपश्चिम प्रदेशमा असार सकिए सँग ९४ प्रतिशत खेतमा रोपाइ सकिएको छ। प्रदेशका नौ वटै जिल्लामा गरेर ९३ दशमलव ६५ प्रतिशत खेतमा रोपाइ सकिएको हो ।


प्रदेश भित्र १ लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा असार अन्तिमसम्म १ लाख ६३ हजार हेक्टरमा धान खेतीको काम सकिएको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका निमित्त कृषि निर्देशक नरेन्द्र पनेरुले बताए ।



दार्चुला जिल्लामा भने सबै भन्दा बढी क्षेत्रफलमा रोपाइ सकिएको छ । दार्चुलामा ९७ प्रतिशत खेतमा रोपाइ सकिएको छ । कैलालीमा ९६ प्रतिशत खेतमा रोपाइ सकिएको छ । कञ्चनपुरमा ९५ प्रतिशत, डडेल्धुरा, बैतडी र बझाङमा ९०/९० प्रतिशत, अछाममा ८७ प्रतिशत तथा बाजुरा र डोटीमा ८१/८१ प्रतिशत रोपाइको काम सकिएको छ । कैलालीमा ६५ हजार हेक्टर र कञ्चनपुरमा ४७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ ।
डोटीमा १० हजार ६ सय ७०, डडेल्धुरामा ६ हजार एक सय ३६, अछाममा १६ हजार ५ सय ८०, बाजुरामा ३ हजार ३ सय १०, दार्चुलामा ४ हजार ४ सय ८०, बैतडीमा ९ हजार र बझाङमा ७ हजार १ सय १० हेक्टरमा वर्खे धान खेती हुने गरेको छ । कैलाली र कञ्चनपुर जिल्लाको केही हेक्टर क्षेत्रफलको जग्गामा चैत महिनामा समेत रोपाइँ गरेर ‘चैते धान खेती’ गरिँदै आएको छ ।
डोटीको तलकोट सेरोमा पनि रोपाइ जारी छ । तर, धेरै क्षेत्रमा रोपाइ सकिएको छ ।’ सुदूरपश्चिममा कुल १ लाख ७४ हजार ७ सय ७६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा ३६ हजार ४ सय ८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा पुगेको छ । सिँचाइको सुविधा नभएका क्षेत्रमा रोपाइमा ढिलो हुने गरेको छ । सुदूरपश्चिमको १० हजार हेक्टर क्षेत्रफलमा साउन महिना सुरु भइसक्दा पनि रोपाइ भएको छैन ।





