

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित मजगाँउमा रहेको मजगाँउ थारू सामुदायिक होमस्टेका सदस्यहरूलाई पर्यटन विकास सम्बन्धी आधारभूत तालिम दिइएको छ ।


संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगत तारा गाँउ विकास समितिले होमस्टेका सदस्यहरूलाई मजगाँउमै चार दिने तालिम दिएको हो ।



असार २ गतेदेखि सुरु भएको उक्त तालिमको बुधबार समापन गरिएको हो । मजगाउँ थारू होमस्टे व्यवस्थापन समितिका प्रतिनिधिहरू, होमस्टेका सञ्चालकहरू सहित ३१ जनालाई तालिम प्रदान गरिएको तारा गाँउ विकास समितिका संयोजक एवम् तालिमका प्रशिक्षक दिनेश भण्डारीले बताएका छन् ।
शाकाहारी र मांसाहारी गरि ३७ ओटा परिकार बनाउन सिकाइएको उनले बताए । तालिम कि प्रशिक्षार्थी सुन्तली चौधरीले तालिमबाट धेरै कुरा सिकिएको बताइन । परिकार बनाउन मात्रै नभइ पाहुनालाई स्वागत तथा बिदाई गर्ने बारेमा पनि ज्ञान भएको उनले बताइन ।
मजगाउँ थारू होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष कल्पना चौधरीले तालिमले आफूलाई धेरै फाइदा पुग्ने बताइन । “होमस्टे सञ्चालन गरेको १ वर्ष पुगिसकेको छ तर आजसम्म आधारभुत तालीम पनि लिन पाएको थिएन, यो तालिममा सिकेको कुरा व्यवहारमा उतार्नेछु ।” गत असारमा उद्घाटन गरिएको मजगाँउ थारू होमस्टेमा हाल ५ ओटा होमस्टे सञ्चालनमा छन् ।

