ठूला राजनीतिक दलहरूबीच सहमति, सहकार्य र संवाद आवश्यक : प्रमुख सचेतक लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अस्थिरताबाट मुलुक जोगाउन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका निम्ति ठूला राजनीतिक दलहरूबीच सहमति, सहकार्य र संवाद आवश्यक रहने बताएका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले अहिलेको सरकार समीकरणमा नेकपा (एमाले) भित्र पनि असन्तुष्टि रहेको उल्लेख गरे । सत्तासमीकरण बारे आफैँमा विरोधाभास र आशंका रहेको उनले धारणा राखे ।

Navadurga sun

“नेपाली कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ,” उनले भने, “जनता पनि ठूला दल मिलेर मुलुकलाई सही दिशामा लैजानुपर्छ भन्नेमा छन् ।” कांग्रेस र एमालेबीचको सत्ता सहकार्य गर्ने विषयमा ठोस छलफल नभएको प्रमुख सचेतक लेखकको भनाइ थियो । सरकार सञ्चालनका निम्ति नभए पनि मुलुकलाई अस्थिरतातर्फ जान नदिन, संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि ठूला दलहरू बीच सहकार्य र छलफल आवश्यक हुने प्रमुख सचेतक लेखकले बताए ।

सहकारीको रकम अपचलन बारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै समग्र छानबिनका विषयमा सकारात्मक धारणा सार्वजनिक गरेको उनले उल्लेख गरे । उनले कांग्रेस पनि त्यसका निम्ति सकारात्मक रहेको बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता माथि छानबिन हुनु पर्नेमा कांग्रेसको अडान यथावत् रहेको बताए । “सहकारीको रकम अपचलन भएको लगायतको विषय छानबिन गर्ने निकायको जिम्मेवारीमा रहेका पनि आरोपित छन्,” उनले भने, “हामीले राजीनामा होइन, छानबिनको माग गरेका हौँ ।” यही वैशाख २८ गते संसद् बैठक बस्नु अघि उक्त विषय सम्बोधन हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...