धनगढीको चैतन्य पाठशालामा चैतन्य स्टिम वर्कसप सुरु

धनगढी- धनगढीको चैतन्य पाठशालामा “चैतन्य स्टिम वर्कसप २०८० सुरु भएको छ । मंगलवार औपचारिक कार्यक्रम गरेर सुरु भएको वर्कसपमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, खगोल विज्ञान गणित र व्यवस्थापनका विभिन्न विधामा युवा वैज्ञानिकहरूले एक हप्तासम्म विद्यार्थीलाई प्रशिक्षण दिने छन् ।
चैतन्य पाठशालाले आयोजना गरेको कार्यक्रमको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री धामीले विज्ञान, प्रविधि, संस्कार र संस्कृति सहितको शिक्षा प्रणालीको विकास हुनुपर्छ भन्ने मान्यता राख्दै आएको चैतन्य पाठशालासँग सहकार्य गर्न चाहेको बताए । उनले सुदूरपश्चिम प्रदेश सरकार विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्न चैतन्य पाठशालासँग सहकार्य गर्न तयार रहेको बताएका हुन् । “युवा विद्यार्थी जो विज्ञान र प्रविधिको क्षेत्रमा काम गरिरहेका छन्,उहाँहरूलाई सम्मान र सहयोग गर्ने मन्त्रालयरले निणर्य गरेको छ,” उनले भने, “चैतन्य पाठशालाले व्यक्तिमा सकारात्मक सोचको विकास गराउने काम गरेको छ । यो सबैका लागि अनुकरणीय र अनुसरणीय छ ।”

कार्यक्रमका प्रशिक्षक एवं युवा वैज्ञानिक धिरेन्द्र चन्द सोडारीले शिक्षालाई प्रविधि मैत्री बनाउनुपर्ने र अनुसन्धानमा आधारित शिक्षा हुनुपर्ने बताए । उनले आफूहरूले रिडिफाइन्ड स्टिम एजुकेसनको वकालत गरिरहेका बताउँदै भविष्यको शिक्षा कस्तो हुने भन्ने क्षेत्रमा काम हुनुपर्ने कुरामा जोड दिए। चन्दले चैतन्य पाठशालामा हुने वर्कसपमा सात दिनसम्म न्यानो सेटेलाइट कसरी उडाउने, खगोल विज्ञान, एस्ट्रोनिमिक क्याम्प, सेटेलाइट क्याम्प, ड्रोन, थ्रीडी पिन्टर, रोबोट, आर्टिफिसियल इन्टेलिजेन्स, शिक्षक बिना कसरी पढाउने भन्ने जस्ता कुराको प्रशिक्षण दिइने बताएका छन् । “वास्तविक जीवनमा आर्टिफिसियल इन्टेलिजेन्स कसरी काम गर्छ? प्रविधि क्षेत्रबाट आयआर्जन कसरी गर्न सकिन्छ ? पर्यटनबाट कसरी लाभ लिन सकिन्छ भन्ने कुरामा अब राज्यको ध्यान जान जरुरी छ,” उनले भने, “राज्यले गर्नुपर्ने काम विद्यालयले गरिरहेको छ । सुदूरपश्चिमलाई आइटीको हब बनाउन सकिन्छ । त्यसका लागि खोज अनुसन्धान, विज्ञान र प्रविधिमा लगानी गरिनुपर्छ ।”

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक सीताराम भट्टले “स्टिम वर्कसप” ले विद्यार्थीलाई नविनतम प्रविधिसँग परिचित गराउने बताए। उनले हाम्रो ज्ञानलाई हामीले प्रकाशमा ल्याउन नसक्दा पछाडि छौँ । ज्ञानलाई विज्ञानसँग जोड्दै संस्कार, परम्परा र प्रविधिलाई एकाकार गरेर सिक्ने र सिकाउने थलो चैतन्य पाठशाला बनेको बताए । भट्टले यस्तो वर्कसपले विद्यार्थीले सिकाइमा अभावको महसुस गर्ने अवस्था नआउने तर्क गरेका छन्।

कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टले चैतन्य पाठशाला युग सुहाउँदो शिक्षालयको रूपमा स्थापित भइरहेको बताए । “अहिलेको शिक्षा किताबी सूचनामा मात्रै आधारित भएको अवस्थामा चैतन्य पाठशालाले व्यक्तित्व विकासका सबै पक्षमा काम गर्न खोजेको छ,” उनले भने, “विद्यालयले शिक्षा, संस्कार र प्रविधिको क्षेत्रमा काम गरिरहेको छ । प्रविधि सहितको शिक्षाले मात्रै व्यक्ति सफल हुन्छ भन्ने कुरा व्यवहारमा उतार्ने काम चैतन्य पाठशालाले गरिरहेको छ ।”

क्याम्पस प्रमुख भट्टले नेपालबाट अन्य मुलुकमा विद्यार्थी पलायनको क्रम बढेको बताउँदै विद्यालय शिक्षा निर्माणात्मक भए विदेश पलायनको अहिलेको अवस्था रोकिने सम्भावना रहेको बताएका छन् । उनले चैतन्य पाठशाला मुलुकै नमुना विद्यालय हुन सफल हुने विश्वास व्यक्त गरेका छन् । शिक्षक अभिभावक संघका अध्यक्ष ईश्वर गिरीले “स्टिम वर्कसप” बाट बालबालिकामा क्षमता बढाउने अवसर मिल्ने विश्वास व्यक्त गरेका छन् भने साइन्स एण्ड रोबोटिक क्लबका विद्यार्थी नेत्र कार्कीले सात दिनसम्म विज्ञान र प्रविधिसँग परिचित हुँदै थप कुरा सिक्न पाइने विश्वास व्यक्त गरेका छन् ।

चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले विद्यालयले यो वर्ष नवीन अभ्यास गर्न खोजेको बताए । उनले प्रकृति र संस्कृति, शिक्षा र संस्कारको संगमको रूपमा चैतन्य पाठशालाको विकास गरिने बताएका छन् । “अबको पुस्ता कस्तो हुने भन्ने चिन्तनका साथ हामीले हरेक विद्यार्थीमा शिक्षा, संस्कार, अभ्यास र बानीको विकास गराउन प्रयत्न गरिरहेका छौँ,“ उनले भने, “अहिलेको विश्व समाजले नैतिकवान, आदर्श, जिम्मेवार, त्याग समर्पण र कर्तव्य पालना गर्ने नागरिकको खाँचो छ । त्यो खाँचो पूरा गर्न हामीले हाम्रो तर्फबाट सकिने सबै प्रयास गरिरहेछौँ । यो कुराका लागि हामी अरू विद्यालयहरूसँग पनि सहकार्य गर्नेछौँ ।”

Loading...