धनगढीवासीमा समर्पित निःशुल्क ‘महाप्रस्थान यान’ सञ्चालनमा





धनगढी, २५ असार- कैलालीका व्यवसायी गोपाल हमालले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएका छन्। धनगढीमा पार्थिव शरीर (शव) बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका शोकाकुल आफन्तजनले भोग्दै आएको समस्यालाई मध्यनजर गरि अभियन्ता हमालले ३० लाखको लागतमा ‘महाप्रस्थान यान’को नाम दिएर सो वाहन सञ्चालनमा ल्याएका हुन्।





शुक्रबार धनगढीमा एक कार्यक्रमकाबीच महाप्रस्थान यान निःशुल्क रुपमा सञ्चालनका लागि हस्तान्तरण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथी डा. हेमराज पन्त र हमाल परिवारले महाप्रस्थान यान सञ्चालनको जिम्मेवारी पाएका धनगढीका सामाजिक अगुवा शिद्धराज पनेरुलाई यानको चाबी हस्तान्तरण गरे।

हमालले उक्त यान धनगढीवासीमा समर्पित हुने बताउँदै भने, ‘परिवारको सदस्य गुमाउँदा कुनै पनि परिवार शोकमा डुबेको हुन्छ। त्यस्तो अवस्थामा शुल्क तिरेर पनि शव वाहन पाउन मुस्किल हुन्छ। शव यात्राका लागि अधिकासंले गाडी दिनै नमान्ने समस्या पनि छ। त्यसैले महाप्रस्थान यानको नाम दिएर निःशुल्क वाहन सञ्चालन गरिएको हो।’ उनले पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारको लागि लैजान सो यानको व्यवस्था गरिएको बताए।

यान हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वरजिष्टार डा. हेमराज पन्तले सम्मानजनक अन्तिम संस्कारका लागि अभियान्ता हमालले महाप्रस्थान यान सञ्चालन गरेर निकै महत्वपूर्ण काम गरेको बताए। यानभित्र पार्थिव शरीर र किरिया पुत्री बस्न मिल्ने छुट्टाछुट्टै क्याबिन छ। साथै यानको अगाडिको भागमा फूलमालासहित मृतकको फोटो राख्न सकिन्छ।
सो यान धनगढी उपमहानगरपालिकास्थित मोहना नदी आर्यघाट, गोदावरी नदी आर्यघाट, खुटिया, कञ्चनपुरको महाकाली आर्यघाटसम्म सञ्चालन हुने बताइएको छ।



