कैलाली- धनगढी उपमहानगरपालिकाले ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपमहानगरले ‘गो ड्रिमर्स’ को साझेदारीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो ।



नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गत छनोटमा परेका वडा नं १२ स्थित सिद्धनाथ माध्यमिक विद्यालय जुगेडा र वडा नं १८ स्थित चन्द्रोदय माध्यमिक विद्यालय फूलबारीमा उक्त कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख गोपाल हमालले जानकारी दिए । नमुना विद्यालयमा क्रिकेटको नर्सरी विकास गर्न यो कार्यक्रम महत्वपूणर् हुने उनले बताए ।



नयाँ प्रतिभा उत्पादन गर्ने उदेश्यका साथ विगत देखि नै धनगढीलाई क्रिकेटको सहरका रुपमा स्थापित गर्न अग्रसर सुवास शाहीको टोलीसँग उपमहानगरले क्रिकेट विकास कार्यक्रमको सम्झौता गरेको उहाँको भनाइ छ । नमुना स्कुलमा क्रिकेटको नर्सरी तयार गर्ने समझदारी भएको जनाउँदै नगर प्रमुख हमालले क्रमिकरुपमा अन्य विद्यालयमा यो कार्यक्रम लागू गर्दै जाने बताए ।
ग्रासरुट कार्यक्रमले धनगढीलाई क्रिकेटको सहरका रुपमा स्थापित गर्ने अभियानलाई मूर्तरुप दिने विश्वास लिएको जनाइएको छ । गो ड्रिमर्सका अध्यक्ष शाहीले अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित उपमहानगरपालिकासँगको सहकार्यमा सो कार्यक्रम सुरु गरिने बताए । नेपाली क्रिकेटको विकासका लागि स्थानीय तहसँगको सहकार्यमा हुन लागेको यो कार्यक्रम मोडेलका रुपमा स्थापित हुने उनको भनाइ छ ।
धनगढीलाई क्रिकेटको सहरका रुपमा स्थापित गर्न गो ड्रिमर्सको टोलीले विगतदेखि नै धनगढी क्रिकेट लिग प्रतियोगिता गर्दै आएको छ । धनगढी प्रिमियर लिगसम्मका व्यावसायिक क्रिकेट प्रतियोगिता, नेपालमै पहिलोपटक क्रिकेट खेलाडीको अक्सन, धनगढी एफसीलाई लगातार दुई पटक नेपाल सुपर लिगको उपविजेता बनाइसकेको गो ड्रिमर्सले धनगढीलाई ग्लोबल सिटीका रुपमा विकास गर्न निरन्तर भूमिका निर्वाह गरिरहेको जनाइएको छ ।
उपमहानगरपालिकासँग भएको ग्रासरुटस्तरको क्रिकेट विकास कार्यक्रममा थुप्रै प्रतिभावान खेलाडी रहेकोे विश्वास गरिएको छ । यस कार्यक्रममा सामुदायिक विद्यालयका विद्यार्थीलाई क्रिकेटका आधारभूत कुरा सिकाउन, उनीहरुको क्षमता अभिवृद्धि गर्न, खेलप्रतिको लगाव बढाउन महत्वपूणर् भूमिका निर्वाह गर्ने जनाइएको छ । समझदारी अनुसार दुई विद्यालयमा क्रिकेटका आधारभूत संरचनाको विकास गर्दै क्रिकेट प्रशिक्षकको व्यवस्था गरी नियमित प्रशिक्षण दिलाइने भएको छ ।




