डोटी- डोटी र अछामको संगममा पर्ने बोगटान फूडसिल गाउँपालिकाको मोरासैनमा प्रस्तावित ४५० मेगावाटको सेती नदी ६ परियोजनाको ड्याम निर्माण स्थल सम्म जाने पहुँचमार्ग निर्माण गर्न सम्झौता भएको छ ।



सुदूरपश्चिम प्रदेश सरकार र बोगटान फूडसिल गाउँपालिका बिच आइतबार सडक निर्माणका लागि सम्झौता भएको हो । प्रदेश सरकारका भौत्तिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाको उपस्थितमा दुई सरकार बिच सहमती पत्रमा हस्ताक्षर भएको हो । पश्चिम सेती र सेती ६ परियोजनाको सम्भाव्य अध्यनका लागि भारतीय कम्पनी एनएचपीसी संग लगानी बोर्डको सम्झौता छ ।



सो कम्पनीले सेती ६ परियोजनाको अध्ययन क्षेत्र सम्म सडक मार्ग नभएकाले कठीनाइ भइरहेको गुनासो लगानी बोर्डसँग गरेपछि सो क्षेत्रमा जाने खत्याडी-मोरासैन सडक निर्माणका लागि प्रदेश र स्थानीय सरकार बीच सम्झौता भएको भौत्तिक पूर्वाधार मन्त्री देउवाले बताए ।
सम्झौता पत्रमा सो सडकका लागि आवश्यक पर्ने बजेट प्रदेश सरकारले व्यहोर्ने उल्लेख छ भने स्थानीय स्तरमा आवश्यक समस्या समाधानको जिम्मेवारी पालिकाले व्यहोर्ने छ ।
गाउँपालिका अध्यक्ष कमलसिंह गडसिलाले सो सडकको डिपीआर पालिकाले तयार गरिसकेको बताए । उनले चालु आर्थिक वर्ष भित्रै वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरि सक्ने दाबी समेत गरेका छन् । सडकको लम्बाई १५ किलोमिटर रहेको छ ।




