बैतडी – बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहीन बनेको छ । केन्द्रमा कार्यरत मेडिकल अधिकृत डा. अस्मिता नेगीले राजीनामा दिएपछि प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहीन बनेको हो ।




प्राथमिक स्वास्थ्य केन्द्रमा डेढ वर्ष बढी सेवा गरेकी डा. नेगीले आजदेखि लागू हुने गरेर राजीनामा गरेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका जनस्वास्थ्य निरीक्षक प्रेम सागर भट्टले बताए । डा. नेगी थप पढाईका लागि जाने भएकाले उनले राजीनामा गरेकी हुन् ।


पाटन नगरपालिकाको डा। नेगीलाई करार सेवामा राखेको थियो । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएपछि पोष्टमार्टम लगायतका अन्य कामहरू रोकिएका छन् । चिकित्सकको अभावमा नागरिकलाई सेवा पाउन मुस्किल हुने बताइएको छ ।
स्वास्थ्य बिमा अन्तर्गतका सेवाग्राही लगायत अन्य बिरामीहरू पनि प्रभावित हुने पाटन प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । पाटन नगरपालिकाले करारमा मेडिकल अधिकृत राख्नका लागि अब विज्ञापन आह्वान गर्ने जनस्वास्थ्य निरीक्षक भट्टले बताए ।




