

कञ्चनपुर–कञ्चनपुरको कृष्णपुरमा हात्तीको बथानले स्थानीयका घर भत्काइदिएको छ । जिल्लाको उत्तरी चपरतला गाउँमा जंगली हात्तीको बथानले स्थानीयका घर भत्काइ दिएको हो ।



बुधबार राति हात्तीको बथानले कृष्णपुर नगरपालिका-४ स्थित चपरतलाका तीन घर भत्काइ दिएको छ । जंगली हात्ती गाउँ पसेर घर तथा अन्नबालीमा क्षति पुगाएको छ । स्थानीय श्यानु चौधरी, गोपाल चौधरी र जयराज चौधरीको घर हात्तीले भत्काइ दिएको छ। हात्तीले बस्ने घरै भत्काइ दिएपछि पीडितको परिवारको बिचल्ली भएको छ । सो गाउँका १५ स्थानीयको झन्डै साढे चार बिघाको धानबाली नष्ट गरिएको छ ।


प्रदेश सभा सदस्य ओमविक्रम भाट (सरल), कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा, नगर उपप्रमुख द्रोपती राना र वडाअध्यक्ष धर्म सिंहले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । साथै नगरपालिकाले पीडित परिवारलाई त्रीपाल र खाद्यान्न समेत उपलब्ध गराएको छ ।