भीमदत्त नगरपालिकाको नगर विकास परिषदको पहिलो बैठक सम्पन्न
नीतिगत सुझाव संकलन, साझेदारी र सहकार्यबारे छलफल




कञ्चनपुर, ९ असार- कञ्चनपुरको भीमदत्त नगरपालिकाको नगर विकास परिषदको पहिलो बैठक आज सम्पन्न भएको छ। भीमदत्त नगरपालिकाको आठौँ नगर सभाको अघिल्लो दिन परिषदको बैठक सम्पन्न भएको हो । नगर योजना आयोगका अध्यक्ष एंव नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षता र परिषद सदस्यहरुको उपस्थितीमा बैठक सम्पन्न भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले अगामी आर्थिक वर्षका योजना तर्जुमा कार्यको परामर्शका लागि बैठक बोलाएको थियो ।





नगर योजना आयोगलाई निर्देशन तथा सुझाव दिन एंव आयोगले तर्जुमा गरेका अल्पकालिन, दीर्घकालिन वा आवधिक विकास योजना छलफलको लागि नगर प्रमुखको अध्यक्षता गठन हुने परिषदमा नगर भित्रका प्रदेश सभा सदस्यहरु, आमन्त्रीत सदस्य, नगर उप प्रमुख, योजना आयोगका उपाध्यक्ष एंव सदस्य, प्रदेश तथा संघिय सरकारका विषयगत कार्यालयका कार्यालय प्रमुख, नगर प्रमुखले तोकेका तीन जना वडाध्यक्ष, नीजि क्षेत्रका दुई जना प्रतिनिधि, विभिन्न वर्ग, समुदायको प्रतिनिधित्व हुने गरि मनोनीत तीन जना सदस्य रहने व्यवस्था रहनुका साथै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था रहेको छ । परिषदको बैठक वर्षमा एक पटक अनिवार्य बस्ने व्यवस्था रहेको छ ।


बुधबारको बैठकमा नगरपालिकाले गरेका विकास निर्माण कार्य, आगामी योजना र त्यसको कार्यान्वय आधारहरु परिषद सदस्यसामु प्रस्तुत गरेको थियो । परिषद सदस्य भवराज रेग्मीले विभिन्न क्षेत्रका व्यत्तित्वहरु रहेको परिषद बैठकबाट आगमी आर्थिक वर्षका योजनाबारे परामर्श लिईएको बताएका छन् । रेग्मीले परिषद् बैठकमा नगरका योजनाबारे जानकारी गराईएको बताउँदै आवश्यक योजनाका लागि विभिन्न विषयगत सरकारी कार्यालयका प्रमुख, नीजि क्षेत्र र सामाजिक क्षेत्रका सदस्य ज्युहरुबाट महत्वपुणर् नीतिगत सुझाव संलकन भएका छन्, यसलाई अगामी आर्थिक वर्षको योजना र नीति तथा कार्यक्रममा समेटेर लैजाने नगरपालिकाले प्रतिवद्धता समेत जनाएको रेग्मीले बताए।

बैठकमा परिषद सदस्यले प्राविधिक शिक्षा, फोहोरमैला व्यवस्थापन, डिजिटलाईजेन, स्वास्थ्य बिमा, एकिकृत सहरी विकास, सामाजिक उत्थान लगायतका कार्यमा जोड दिनु पर्ने बताए । समग्र नगरको विकासका लागि सरोकारवाला निकायसँगको सहकार्य र साझेदारीबारे पनि बैठकमा छलफल भएको परिषद सदस्य रेग्मीको भनाई रहेको छ ।

भीमदत्तको आठौँ नगर सभा बिहिबार बस्दैँ छ । सभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा छलफल गरि पारित गर्नेछ । भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र योजनाबारे सरोकारवाला निकायसँग छलफल गरिएको बताए । कोरोना संक्रमणको जोखिमका कारण नगरपालिकाले भर्चुअल बैठक सञ्चालन गरि सरोकारवाला निकायसँग सुझाव लिईरहेको समेत बताए ।
त्यस्तै नगर उपप्रमुख सुशिला चन्द सिंहले जनता आवश्यकतालाई प्राथमिकरण गदैँ उत्कृष्ट नीति तथा कार्यक्रम ल्याउनका लागि नियमित सरोकारवाला निकायसँग छलफल गरिएको बताईन ।



