


धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले नकुहिने फोहोरमैला व्यवस्थापनका लागि सूक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याएको छ ।३१ लाख ५५ हजार रुपियाँ लगानीमा उपमहानगरपालिकाले वडा नम्बर २ मा सूक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रको आज एक कार्यक्रमकाबीच उपप्रमुख कन्दकला रानाले उद्घाटन गरे ।



घरबाट निस्केको फोहोर व्यवस्थापन गरी स्वच्छ धनगढी बनाउने अभियान अन्तर्गत सूक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याइएको उपप्रमुख रानाले बताए । उनले नगर क्षेत्रबाट उत्पादन हुने फोहोरलाई अब मोहरमा परिणत गरेर आम्दानी गरिने उल्लेख गरे ।


एक बिघा जमिनमा निर्मित सूक्ष्म वर्गीकरण केन्द्रमा नकुहिने फोहोर सूक्ष्म तरिकाले वर्गीकरण गरी विक्री गर्ने जनाइएको छ । प्लाष्टिक, फलाम-टिन, आल्मुनियम, रबर, जुत्ता, कागज सबै अलगअलग वर्गीकरण गरेर विक्री गर्ने धनगढी उपमहानगरपालिकाका फोहोरमैला व्यवस्थापन तथा सरसफाई शाखा प्रमुख अशोक अवस्थीले जानकारी दिए ।
वर्गीकरण गरेर बाँकी रहेको कुनै पनि काम नलाग्ने फोहोरलाई वडा नम्बर ७ पटेलास्थित डम्पिङ साइटमा लगेर व्यवस्थापन गर्ने जनाइएको छ । कुहिने फोहोरलाई वर्गीकरण केन्द्र नजिकै रहेको बायोग्याँस प्लान्टमा प्रयोग गरेर एलपी ग्याँस र मल उत्पादन गर्ने कार्य यसअघिबाटै हुँदै आएको छ ।





