बैतडी – बैतडीमा सुनचोरीको आरोपमा एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डिलाशैनी गाउपालिका–५ लेठ्ठेकोटका २३ वर्षीय गोपालनाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मी नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



स्थानीय जयानन्द नाथको घरबाट पाँच तोला सुनचोरी गरेको आरोपमा उनीहरु दुबैजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।


आफ्नो घरमा रहेको पाँच तोला सुनचोरी भएको भनेर जयानन्द नाथले गोपाल र लक्ष्मीको नाममा किटानी जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घरबाटै पक्राउ परेका दुबैजनाविरुद्ध चोरीसम्बन्धी मुद्धा दर्ता भएर अदालतबाट सात दिनको म्याद थप गरिएको छ । पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।