बैतडीमा देखियो डेंगु, एक महिलामा संक्रमण पुष्टि

बैतडी- बैतडीमा डेंगु देखिएको छ। जिल्लाको सिगास गाउँपालिका ६ थालाकाँडीका ३४ बर्षीया महिलामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

Dadeldhura hospital

ज्वरो आएपछि शिवलिंग स्वास्थ्यचौकीमा उपचारका लागि पुगेकी ती महिलाको रगत परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको हो। जिल्लामा यो वर्ष पहिलो पटक उनमा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख भट्टले बताए । एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्।

Navadurga sun
Godawari sandesh

लामखुट्टे हुन नदिनका लागि आफ्ना वरिपरि भएका पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने र पानी भरेका ड्रम बेलाबेलामा सफा गर्नुपर्ने स्वास्थ्य प्रमुख भट्टले बताए। वर्षातको समयमा लामखुट्टे बढी उत्पादन हुने भएकाले यो समयमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए।

डेंगु भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, खान मन नलाग्ने, शरीरमा बिमिरा आउने लगायतका लक्षण देखा पर्छन्। यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर चेकजाँच गराउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् । संक्रमणबाट जोगिन बैतडीमा लार्भा नष्ट अभिया समेत थालिएको छ।

 

Loading...