कृष्णपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार
पटक-पटक नगर नेतृत्वलाई सचेत गराउदा पनि भ्रष्टाचार नियन्त्रण भएन : नगर कमिटी अध्यक्ष ऐरी


कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नीतिगत रुपमै भ्रष्टाचार भइरहेको र यसबारे पटक-पटक नगर नेतृत्वको ध्यानाकर्षण गराउदा समेत सुनुवाई नभएको भन्दै नेकपा (एमाले) ले चरणवद्ध आन्दोलनको चेतावनी दिएको छ ।


नेकपा (एमाले) कृष्णपुर नगर कमिटीले आइतबार यस विषयमा नगरप्रमुख हेमराज ओझालाई समेत भेटेको छ । ओझासँग संवाद गरेपछि आयोजित पत्रकार सम्मेलनमा नगर कमिटी अध्यक्ष गणेशसिंह ऐरीले पटक-पटक नगर नेतृत्वलाई सचेत गराउदा पनि भ्रष्टाचार नियन्त्रणमा नआएको र झन-झन नयाँ तौर तरिकाहरु अपनाउदै नीतिगत ढंगले नै अनियमितता बढेको बताए ।


‘अहिले भर्खरै पनि ‘मेयरसाप’ सँग वार्ता भयो, हामीले उठाएका विषयवस्तु हरुलाई उहाँले हल्का ढंगले लिएको देखियो,’ अध्यक्ष ऐरले भने, ‘पटक-पटक आग्रह र सुझाव दिदासमेत उहाँले टेर्नु भएन, त्यसैले ती सबै विषयवस्तु लगेर जनतामाझ जाने निणर्य गरेका छौँ ।’
एमाले नगर कमिटीले कृष्णपुर नगरपालिकामा भएको बेथितिलाई ४० बुँदामा समेटेको छ । आव ०८०/०८१ को बजेट र नीति तथा कार्यक्रमहरु नेतामुखी भएको, उपभोक्ता समिति गठन गर्दा जनप्रतिनिधिहरुले आफू अनुकुलका ब्यक्तिहरुलाई राखेर कमिसन लिएको, उपभोक्ता हरुलाई त्यसबारे जानकारी नै नभएको पाइएको एमालेले जनाएको छ ।
योजनाहरु डुब्लिकेसन गरिएको, अनुदानका कार्यक्रममा अनियमितता गरिएको, ठुला योजनाहरुलाई टुक्रा पारेर अनुकुलका ब्यक्तिहरुलाई कोटेसनमा दिइएको, भूगोल भन्दा बाहिरका ब्यक्तिहरुलाई उपभोक्ता समितिमा राखेर मनोमानी तवरले काम गरिएको एमाले नगर कमिटीको आरोप छ ।

एमाले नगर कमिटी इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य लोकराज पन्तले ब्यक्तिगत स्वार्थका लागि यी विषय नउठाएको र लिखित र मौखिक रुपमा पटक-पटक आग्रह गर्दा पनि नगर नेतृत्व कानमा तेल हालेर सुतेकाले जनतामा जाने निणर्य गरेको बताए ।
‘जनतानै न्यायाधीश हुन्, सबै मुद्दाहरु जनस्तरमा लग्छौँ र गलत हर्कतविरुद्ध भण्डाफोर अभियान चलाउछौँ,’ यसअघि नगर प्रमुखका उम्मेदवारसमेत रहेका पन्तले भने ।
कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझासहित अधिकांस जनप्रतिनिधि कांग्रेसबाट निर्वाचित भएका छन् । निवर्तमान नगर प्रमुख तथा एमाले प्रदेश कमिटी सदस्य कणर्बहादुर हमालले जनतासँग प्रत्यक्ष सरोकार भएका मुद्दाहरु नगर नेतृत्वले सम्बोधन नगरेको बताए ।
‘काम गर्दा केहीँ कमि-कमजोरी हुन सक्छन भनेर एमालेले उहाँहरुलाई एक वर्षको समय दिएको हो,’ उनले भने, ‘तर समृद्ध कृष्णपुर बनाउने अभियानमा उहाँहरुले अहिलेसम्म केहीँ काम गर्न सक्नु भएन, जनतालाई विश्वासमा पनि लिन सक्नु भएन। प्रतिवद्धता अनुरुप काम गर्नुको सट्टा स्वच्छाचारिता देखाउन थालेपछि हामीले सचेत गराउने निणर्य गरेका हौँ ।’
एमाले नगर कमिटीले बेथितिका ४० बुँदा पनि समेटेको छ । त्यसबारे राजनीतिक लडाइँ लड्ने एमाले प्रदेश कमिटी सदस्य सुरेन्द्र बमले बताए ।
‘नीतिगत भ्रष्टाचारका बारेमा बोल्ने अधिकार हरेक नागरिकलाई छ,’ उनले भने, ‘यसबारे सम्बन्धी सबैले हेर्न र बुझ्न सक्नुहुन्छ ।’
एमाले नगर कमिटीले सूचनाको हक प्रयोग गरी नगरपालिकालाई निबेदन दिएको थियो । त्यसबाट प्राप्त सूचना र जानकारी, स्थलगत अनुगमन तथा बिभिन्न तथ्य, तथ्यांकहरु केलाउदा अनियमितताका श्रृंखलाहरु भेटिएको नगर कमिटीले जनाएको छ ।