पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध




बैतडी, १ असार- पहिरो खस्दा जयपृथ्वी राजमार्गमा अवरुद्ध भएको छ । बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने राजमार्गको पुर्चौडी नगरपालिका वडा नं. ६ स्थित ढोल्यामोडमा सडकको माथिबाट पहिरो खस्दा सोमबार रातिदेखि सडक अवरुद्ध भएको हो ।



सडक अवरुद्ध हुँदा एम्बुलेन्स, मालबाहक गाडी, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । बझाङबाट धनगढी, महेन्द्रनगर, काठमाडौं, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने सवारी साधन र यात्रुहरु पहिरोका कारण रोकिएका हुन् ।


सडक खुलाउन स्थानीय तह र सडक कार्यालयसँग समन्वय भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । लगातारको वर्षाले सडक पुनः सञ्चालनमा भने समस्या भइरहेको जनाइएको छ । उक्त स्थानमा यसअघि पनि बेलाबेला पहिरो खस्दै आएको थियो ।



