धनगढी- कैलालीका नदीहरूमा जलस्तर बढेसँगै डल्फिन देखिन थालेका छन् । विश्वकै दुर्लभ मानिने डल्फिन यहाँ देखिन थालेका हुन् । मोहना, पथरैया, काँडालगायतका नदीमा जलस्तर बढेसँगै डल्फिन देखिन थालेको संरक्षणकर्मी बताउँछन् । गतवर्ष जेठको ३० गतेबाट डल्फिन देखिन सुरु गरेको थियो भने यसवर्ष असारको दोस्रो साताबाट देखिन थालेको डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए ।




गतवर्ष यस समयमा ठूला र साना गरी ४५ वटा डल्फिन देखिएको थियो । ‘यसवर्ष असार १६ गते पहिलो चरणमा चारवटा डल्फिन देखा परेका थिएु, उनले भने ‘बुधबार पानीको बहाव बढेको हुँदा एकैपटक १२ वटा देखिएको छ ।’ यहाँका नदीमा जेठ अन्तिम सातादेखि नै डल्फिन देखिन थाल्छन् । तर, यो वर्ष मनसुन ढिलो गरी सक्रिय भएकाले असार दोस्रो सातादेखि मात्रै डल्फिन देखिन थालेका हुन् ।


‘डल्फिन खेल्नका लागि अझै पनि नदीमा पानी पर्याप्त छैन’, उनले भने, ‘तर, अब नदीमा डल्फिनको सङ्ख्या थपिँदै जाने अपेक्षा गरेका छौँ ।’ मनसुनभर यहाँका नदीमा डल्फिन देख्न सकिन्छ । कर्णाली नदीको रैथाने र भारतको घांघरा नदीबाट जनविहारका लागि डल्फिन आउने गरेको बताइन्छ । मनसुनमा यहाँ देखिने गङ्गेटिक प्रजातिको डल्फिन चेतनशील जल प्राणी हुन् । उनीहरूले मानिसलाई हानी पुर्याउँदैनन् ।
यहाँ डल्फिन हेर्न विभिन्न देशबाट मानिसहरू पुग्ने गरेका छन् । पर्यटकको लागि यहाँ होमस्टेको आवश्यकता रहेको ढुङ्गाना बताउँछन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयुसीएन) ले यो प्रजातिलाई लोपोन्मुख भन्दै रातो सूचीमा राखेको छ । विश्वमै दुर्लभ यो जलप्राणी कैलालीको नदीहरूमा बच्चा हुर्काउनका लागि आउने गरेको स्थानीय संरक्षणकर्मीहरू बताउँछन् ।

