महेन्द्रनगर- कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिकाभित्र इजाजत नलिई सञ्चालनमा रहेका मेडिकलमा छापा मारेर चार जनालाई पक्राउ गरेको छ भने दुई जना फरार भएका छन् । प्रहरीका अनुसार शुक्रबार र शनिबार विशेष सूचनाका आधारमा छ स्थानमा छापा मारिएको थियो ।




प्रहरीले भीमदत्त नगरपालिका–७ बस्ने विमला उपाध्यायले चलाएको अवैध मेडिकलमा छापा मारेर उनलाई पक्राउ गरिएको छ । त्यस्तै १६ नम्बर वडाको मझगाउँका राजेन्द्रबहादुर चन्द पनि प्रहरी हिरासतमा पुगेका छन् ।


भीमदत्त नगरपालिकाकै १० नम्बर सुकासाल बस्ने सुरेश पाण्डेय र मोहनबहादुर रोकायाले सञ्चालन गरेको दुई मेडिकललाई सिल गरेर दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१६ बसन्तपुर बस्ने बिरेन्द्रराज पन्तको पसलबाट ९४ प्रकार र १३ नम्बर वडाका रामबहादुर बिस्को पसलबाट एक सय २५ प्रकारका औषधि बरामद गरिएको छ । उनीहरु दुबैजना फरार हुन सफल भएको प्रहरीको भनाई छ ।

