बैतडी- भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ। नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति गरेको हो।



यसअघि बिहान ७ बजे मात्रै खुल्ने झुलाघाट नाका अब बिहान ६ बजे खोल्ने सहमति भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।


बैठकले नेपाल–भारत सीमामा रहेको झुलाघाट पुल एकघण्टा अघि खोल्ने सहमति भएको छ। उनले भने, “बैठकमा सहमति भए अनुसार झुलाघाट पुल अब बिहान ६ बजे खुल्ने र साँझ सात बजे बन्द हुनेछ। यसले दुबै देशका नागरिकलाई सहज हुनेछ। ”
यसअघि बिहान सात बजे नाका खुल्ला पिथौरागढ जाने नागरिकले झुलाघाटबाट बसमा यात्रा गर्न समस्या हुने गरेको गुनासो आएपछि यस्तो सहमति गरिएको हो। झुलाघाटबाट सात बजे बस छुट्ने र उक्त बसको यात्रा गर्न अब नेपाली नागरिकलाई सहज हुने प्रमुख जिल्ला अधिकारी पन्थीले बताए।
उनले भने,“ झुलाघाटबाट बिहान सात बजे बस छुट्ने, सात बजे नै नाका खुल्दा यसअघि नेपाली नागरिकलाई समस्या हुने गरेकोमा अब एक घण्टा पहिला छ बजे नै नाका खुल्ला सहजै बसको यात्रा गर्न सकिनेछ।”
यस्तै, विपद् उद्धार तथा प्रतिकार्यका लागि महाकाली नदीमा रबर बोट तथा डुंगा सञ्चालन गर्न सकिने सहमति र विपद्को समयमा दुवै देशका सुरक्षा निकायहरु मिलेर उद्धार तथा अन्य कार्यमा सहकार्य गर्ने, महाकाली नदीलाई

स्वच्छ राख्न भारतको झुलाघाट बजारको फोहोर महाकाली नदीमा फाल्ने गरिएकोमा त्यसलाई व्यवस्थापन गर्ने र नेपालका तर्फबाट पनि महाकाली नदीमा फोहोर हुन नदिने, सीमा क्षेत्रमा हुन सक्ने मानव तस्करी, वन्यजन्तु तस्करी लगायतका गैरकानुनी क्रियाकलाप रोक्नका लागि संयुक्त गस्ती गर्ने, आपसी सहयोग र सहकार्य गर्ने, झुलाघाटस्थित सयौं वर्ष पहिला बनेको झोलुंगे पुलको मर्मत सम्भारका लागि दुवै देशले प्राविधिक समिति गठन गरेर त्यसको मर्मत सम्भार गर्नेसमेत सहमति भएको छ।
यसैगरी, झुलाघाटमा बन्ने मोटरेबल पुलको डिपिआर बनिसकेको र भारतको केन्द्र सरकारलाई पठाइसकेको बैठकमा भारतीय पक्षले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट नाकामा मोटरेबल पुल निर्माणको घोषणा गरेका थिए।
त्यसपछि झुलाघाटमा ५५० मिटर लम्बाइको मोटरेबल पुल निर्माणका लागि काम अघि बढिसकेको छ। त्यो पुल निर्माण कार्यलाई छिटोभन्दा छिटो अगाडि बढाउने बिषयमा पनि सहमति भएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए।
भारतीय पेन्सनधारी नेपाली नागरिकहरुले झेलिरहेको समस्या समाधानका बिषयमा पनि बैठकमा छलफल भएको र यो बिषयमा भारतीय अधिकारीहरुले सम्बन्धित बैंकलाई समस्या समाधानका लागि तत्काल निर्देशन दिने प्रतिबद्धतासमेत जनाएको पन्थीको भनाइ छ।
यस्तै, बैठकमा भारतीय अधिकारीहरुले धारचुलामा पानीको अभाव भएकाले महाकाली नदीबाट लिफ्टिङ गरेर पानीको व्यवस्थापन गर्ने कुरा उठाएको र यो बिषयमा केन्द्र सरकारलाई जानकारी गराउने,भारतीय मेडिकलहरुबाट लागु औषध र नसालु औषधिहरु नेपालमा विक्रि हुने गरेको गुनासो आएकाले त्यसलाई रोक्नका लागि भारतीय पक्षले पहल गर्ने, दार्चुलाको व्याँसमा बिजुली नभएकाले जेनेरेटर चलाउन इन्धन ल्याउन दिने विषयमा समेत छलफल भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए।
सीमा क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदानका लागि आयोजना गरिएको बैठकमा नेपालका तर्फबाट बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाही,
दार्चुलाका प्रहरी प्रमुख तर्कराज पाण्डे, सशस्त्र प्रहरी बल बैतडीका प्रमुख गंगादत्त पन्त, सशस्त्र प्रहरी बल दार्चुलाका प्रमुख डम्बर बिष्ट, अनुसन्धान कार्यालय बैतडीका प्रमुख अर्चना सिंह र भारतका तर्फबाट पिथौरागढ जिल्लाका जिल्ला अधिकारी रिना जोशी लगायतका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो।

