बैतडी- महिलाको हत्या आरोपमा दुई वर्षपछि पक्राउ परेका मेलौली नगरपालिकाका ४४ वर्षीय गोरख दयाल कारागार चलान भएका छन्। दयाललाई डडेल्धुराको भागेश्वर गाउँपालिका ३ लामीकाँडेकी ३६ वर्षीया गीतादेवी मल्लको हत्या आरोपमा प्रहरीले असार दोस्रो साता पक्राउ गरेको थियो।



गीतादेवीको हत्यामा संलग्न रहको भन्दै जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।


विस २०७८ साल साउन ८ गते बैतडीको मेलौली नगरपालिका ५ सेरी माइती घर आउँदै गरेकी गीता मेलौली नगरपालिका ७ ल्वाथलीमा मृत अवस्थामा फेला परेकी थिइन्। त्यसपछि थप अनुसन्धान गर्दा घटनामा गोरखको संलग्नता रहेको आशंकामा गोरखलाई पक्राउ गरेको थियो।
गीतादेवी मृत्युभन्दा अघिल्लो दिन गोरखको सम्पर्कमा आएको खुल्न आएको थियो। गोरखविरुद्ध ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान गर्दा गोरखले प्रहरीसमक्ष गीताको शव आफूले फालेको भनेर बयानसमेत दिएका थिए।

नक्कली मेडिकल सञ्चालक धरौटीमा रिहा
यसैबीच पञ्चेश्वरमा अवैध रुपमा मेडिकल सञ्चालन गरी बिरामी चेकजाँच गरेको आरोपमा पक्राउ परेकी श्यामाकुमारी शाह धरौटीमा रिहा भएकी छन्। पक्राउ परेकी श्यामाविरुद्ध इलाजसम्बन्धी कसुरमा मुद्धा दर्ता गरेर अनुसन्धानपछि जिल्ला अदालतले ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जोशीले जानकारी दिए।
मेडिकल सञ्चालनका लागि स्वास्थ्यसम्बन्धी कुनै तालिम नलिएकी श्यामाले क्लिनिकमा बिरामी जाँच्नेदेखि लिएर औषधि बिक्री गर्ने काम गरिरहेकी फेला परेपछि प्रहरीले दुई हप्ता अगाडि नियन्त्रणमा लिएको थियो।
श्यामा स्वास्थ्यसँग सम्बन्धित व्यक्ति नभएको र उनीले नै क्लिनिकमा बिरामी जाँच्नेदेखि लिएर औषधि बिक्री गर्ने काम गरिरहेकाले प्रहरीले नियन्त्रणमा लिएको जनाएको थियो। श्यामा क्लिनिक बिनाअनुमति सञ्चालन रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले गएको जेठ दोस्रो साता सिल गरेको थियो।
त्यसपछि गाउँपालिकाले मेडिकल सञ्चालनका लागि अनुमति दिएको भए पनि स्वास्थ्यसँग सम्बन्धित नभएका व्यक्तिले बिरामी जाँच्नेदेखि लिएर औषधि बिक्री गर्ने काम गरिरहेकाले नियन्त्रणमा लिएको हो। श्यामा पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहकी श्रीमती हुन्।

