धनगढी- विक्रीका लागि बैतडीबाट अत्तरिया ल्याइएको गोलभेँडामा खान नमिल्ने विषादी भेटिएपछि नष्ट गरिएको छ । आइतबार बिहान अत्तरियामा रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाईमा गरिएको परीक्षणमा करिब चार क्युन्टेल गोलभेँडामा विषादी भेटिएपछि नष्ट गरिएको हो ।




कृषि उपज थोक बजार समिति अत्तरियाको पसल नम्बर २ मा धर्मराज सप्लायर्समा बिक्रीका लागि राखिएको तरकारी पसलमा गोलभेँडामा विषादी भेटिएको अवशेष द्रुत विश्लेषण इकाई प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताए ।


उनले गोलभेँडामा ५० प्रतिशत विषादी भेटिएकाले खान नमिल्ने भएकाले तत्काल नष्ट गरिएको बताए । उक्त विषादी युक्त गोलभेँडा गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको रोहवरमा खाल्डोमा हालिएको थियो ।
पसलका सञ्चालक रमेश भट्टले आइतबार बिहान मात्रै बैतडीबाट ट्रकमा ल्याइएको गोलभेँडा पसलमा राखेको बताए । उनले उक्त ट्रकमा ल्याइएको गोलभेँडा अन्त कता विक्री गरियो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताए ।

