


कञ्चनपुर- कञ्चनपुरमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइएको छ । जेठ अन्तिम साता सञ्चालन गरिएको खोप अभियानअन्तर्गत १ लाख ४७ हजार ४५३ बालबालिकाले खोप लगाएका हुन् ।


जिल्ला स्वास्थ्य कार्यालयले जेठ २५ देखि ३२ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो । अभियानमा ६ महिनादेखि १५ वर्षमुनिका १ लाख १८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको थियो । लक्ष्यभन्दा झण्डै ३० हजार बढी बालबालिकाले खोप लगाएका हुन् ।


‘लक्ष्यभन्दा धेरै बढी बालबालिकाले खोप लगाएका छन्,’ स्वास्थ्य कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले भने, ‘अहिले पनि केही पालिकामा छुटेका बालबालिकालाई खोजेर खोप लगाउने काम भइरहेको छ ।’ उनका अनुसार खोप केन्द्रसम्म नआएका ५८६ बालबालिकालाई खोजेरै खोप लगाइएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार ६ महिनादेखि ५ वर्षमुनिका ३९ हजार ३९३ र ५ वर्षदेखि १५ वर्षमुनिका १ लाख ८ हजार ६० बालबालिकाले खोप लगाएका हुन् । खोप अभियानका लागि जिल्लाभरिमा ५६५ केन्द्र तोकिएको थियो ।

स्वास्थ्य कार्यालयले खोप अभियान सकिएपछि पनि असार १० सम्म छुटेका बालबालिकालाई खोजी गरी खोप लगाउने समय तोकेको छ । अहिले विभिन्न स्थानीय तहमा स्वास्थ्यकर्मी र स्वयंसेविकाहरु छुटेका बालबालिकाको खोजी गरिररहेका छन् ।
दादुरा र रुबेलाविरुद्ध ६ महिना र १५ महिनामा गरी दुई पटक नियमित खोप लगाउने गरिन्छ । तर, कतिपय बालबालिकालाई नियमित खोप समेत नलगाइएका कारण जिल्लामा दादुराको प्रकोप फैलिने जोखिम बढेको थियो । दुई महिनाअघि जिल्लाको कृष्णपुर नगरपालिकाका दादुरा संक्रमित देखिएपछि आकस्मिकरुपमा अभियान सञ्चालन गरिएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार १५ महिनाभित्र १३ रोगविरुद्ध ७ खोप लगाउनुपर्छ । उक्त सबै खोप ८० प्रतिशत बालबालिकाले मात्रै लगाएको पाइन्छ । अहिले पनि बालबालिकालाई घर घरमै पुगेर खोजी गरेर केन्द्रसम्म पुर्याइएको कोल्ड चेन अधिकृत कुँवरले बताए ।
दादुरा संक्रमण फैलिन थालेपछि सुदूरपश्चिमका कञ्चनपुरसँगै कैलाली र बाजुरालगायत देशभरिका १६ जिल्लामा आकस्मिक खोप अभियान सुरु गरिएको थियो । सरकारले २०२६ सम्म दादुरा निवारण गर्ने लक्ष्य राखेको छ ।
केही वर्षअघिसम्म दादुरा नियन्त्रणको अवस्थामा थियो । २०१८ मा पनि नियमित रुपमा संक्रमण देखिन थालेपछि निवारणमा समस्या देखिएको हो । यही कारणले संक्रमण देखिएका जिल्लामा आकस्मिक खोप अभियान सञ्चालन गरिएको हो ।





