धनगढी- कैलालीको गोदावरी नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरको दशौ नगरसभा बहिस्कार गरेका छन । नगरसभामा प्रस्तुत हुने बजेट एक हप्ता अगाडी नै आफुहरुलाई दिईनुपर्ने बताउदै उनिहरुले नगरसभा बहिस्कार गरेका हुन । नगरको वडा नं. ७ की वडाध्यक्ष कलावती साउँदले नगरसभामा प्रस्तुत हुने बजेट आफुहरुले एक हप्ता अगाडी नै पाउनुपर्ने बताईन ।


उनले बजेटको बारेमा आफुहरुलाई छिटो जानकारी भए सोही अनुसारको मानसिकता हुने र एजेण्डाहरुको बारेमा जानकारी राख्न समेत सजिलो हुने बताईन । ‘नगरका एजेण्डाका बारेमा हामीलाई कहिले पनि जानकारी हुदैन, एजेण्डा पठाउनुहुन्छ, कार्यपालिका बैठकमा हामीलाई जानकारी हुदैन, भोली बैठक हुन्छ आज साँझ मेसेज पठाउनुुहुन्छ’ उनले भनिन् ‘भोली कार्यपालिका बैठक हुन्छ आज एजेण्डा पठाउनुहुन्छ, त्यो एजेण्डा हामीले अध्ययन गर्ने कि नगर्ने रु त्यही भएर हामी यो नगरसभा स्विकार गर्दैनौ ।’



उनले सहमती र सहकार्य सबैसँग गरिनुपर्ने बताईन । उनले आफुहरुलाई नगरका एजेण्डाहरुका बारेमा एक हप्ता अगाडी नै जानकारी दिइनुपर्ने बताईन । ‘हामी पनि निर्वाचित जनप्रतिनिधि हौ, हामीलाई पनि जनताले जिताएर पठाएका हुन’ उनले भनिन् ‘तर यहाँ नगरपालिकामा यिनिहरुले एकलौटी गरेका छन, आफ्नो कार्यकर्ता पाल्ने कार्य मात्रै गरेका छन ।’
नगरको ढिक्के बजेट पनि आफ्नो नजिकको मान्छे भएको ठाउँमा मात्रै हाल्ने गरिएको उनले बताईन । यस्तै नगरउपप्रमुख शारदा रोकायाले डल्लो बजेट राख्न नहुने बताईन । उनले यसअघिको डल्लो बजेट एकलौटी रुपमा दुई तिन वडाहरुमा मात्रै गएको बताईन ।
उपमेयरसहितका केही जनप्रतिनिधिहरुको बहिस्कारका बाबजुद नगरसभा चलिरहेको छ । नगरसभा बहिस्कार गरेर हल बाहिर निस्कीएका एमाले निकट जनप्रतिनिधिहरुले पुनः हलभित्र प्रवेश गरेर नाराबाजी गरेका थिए । तर उक्त नाराबाजीमा उपप्रमुखको भने संलग्नता रहेको थिएन ।