बैतडी- बैतडीका एक शिक्षकले बाँझो रहेको जग्गा स्याहारेर टमाटर खेती गर्दा वार्षिक चार लाख रुपियाँ आम्दानी भएको छ। शिवनाथ गाउँपालिका–३, पोखरेठीका धनवीरसिंह साउदले बाँझो रहेको करिब पाँच रोपनी जग्गामा एक सय क्विन्टलभन्दा बढी टमाटर उत्पादन गरे ।


सो बारीमा १३ वटा पोलिहाउस निर्माण गरेर उत्पादन भएको टमाटर लिन धनगढीबाट व्यापारीहरू गाडी लिएर आएको उले बताए । स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा राहत दरबन्दीका शिक्षक साउदले शिक्षण पेसाभन्दा कृषि कर्म आम्दानीको राम्रो स्रोत भएको बताए ।



विद्यालयमा पढाउने काम सकेर साँझरबिहानको समय टमाटर खेती गर्दै आउनुभएका साउदले खेर गइरहेको बाँझो जग्गा र फुर्सदको समय तरकारी खेतीमा खर्चिनुभएको छ। उनले कृषि खेतीका लागि बैङ्कबाट १० लाख रुपियाँ ऋण निकालेको बताए ।
शिक्षक साउद अहिले शिवनाथ गाउँपालिकाकै नमुना कृषक बन्नुभएको छ। ‘शिक्षण पेसा गरेर खान त पुगेकै थियो, उनले भने, ‘बाँझो जग्गा राख्नुभन्दा तरकारी खेती गर्नु राम्रो लाग्यो। पहाडमा गाउँमा तरकारी र टमाटर धनगढीबाट आएको देख्दा मन थाम्न नसकेर सुरु गरेको हुँ।’
एक पोलिहाउस निर्माण गर्न करिब ८५ हजार रुपियाँ खर्च लागेको उनले बताए । उनको बारीमा अहिले १३ वटा पोलिहाउस रहेका छन्। शिक्षकको लोभलाग्दो टमाटर खेती हेर्न कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख घनश्याम चौधरी बिहीबार शिवनाथ पुगे । टमाटर खेतीको निरीक्षणपछि कृषि ज्ञान केन्द्रले कृषि कर्जामा ब्याज अनुदान कार्यक्रमबाट आठ प्रतिशत ब्याज तिरिदिने बताएको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख चौधरीले धनवीरसिंह साउदले तरकारी खेतीका लागि बैङ्कबाट लिएको ऋणको आठ प्रतिशत ब्याज कृषि ज्ञान केन्द्रले तिरिदिने निर्णय भएको बताए । त्यस्तै गाउँपालिकाले पनि प्राविधिक सहयोग गरिरहेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले बताए ।