टीकापुर घटनामा मारिएका टेकबहादुर साउदको घरमा पुगेर रेशम-रन्जिताले भने- घटनाको सत्यतथ्य बाहिर आउनुपर्छ


कैलाली- रेशम चौधरी र रञ्जिता चौधरी टेकबहादुर साउदको घर पुगेका छन् । स्व. टेकबहादुर टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक हुन् । कारागारबाट रिहा भएर कैलाली पुगे लगत्तै उनीहरू साउदका अभिभावक भेट्न पुगेका हुन् ।



साउदको अभिभावकलाई रेशमले घटनाको सत्यतथ्य बाहिर ल्याउन आफूले पनि पहल गर्ने बताए । उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दा धेरै तथ्य बाहिर आउने भन्दै सरकारलाई उक्त प्रतिवेदन सार्वजनिक गर्न समेत आग्रह गरेका हुन् ।


हिजो रिहा भएलगत्तै चौधरीले बालक सहित अन्य प्रहरी अधिकारीहरूले पनि न्याय पाउनु पर्ने बताएका थिए । त्यसको लागि उच्च स्तरीय आयोग बनाउनु पर्ने उनको माग छ । उनले टीकापुर घटना पहिचानको आन्दोलनका क्रममा भएको भन्दै यसलाई राजनैतिक ढङ्गबाट हल गरिनु पर्ने बताउँदै आइरहेका छन् ।
रेशम पत्नी रन्जिता सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचन हुँदै हाल मन्त्री छिन् । आज उनले पनि सरकारले उक्त घटनामा सहादत प्राप्त गरेकाहरुलाई न्याय दिनु पर्ने बताएकी हुन् । रन्जिता सुरुबाटै उनीहरूले न्याय पाउनु पर्ने र टिकापुर घटनाको तथ्य बाहिर आउनु पर्ने बताउँदै आइरहेकी थिइन् । २०७२ भदौ ७ गते आन्दोलनका क्रममा अढाइ वर्षका साउद सहित ८ प्रहरीको ज्यान गएको थियो ।