कैलालीको अत्तरिया चोकमा मर्मतको काम सुरु





अत्तरिया, २६ जेठ- कैलालीको अत्तरिया चोकमा मर्मतको काम सुरु भएको छ । वर्षातमा हिलाम्मे हुनुका साथै पानी जम्ने समस्या र सुख्खामा धुलाम्मे हुँदै आएको चोकको मर्मतको काम सुरु भएको हो । सडक डिभिजन कार्यालय महेन्द्रनगर मार्फत सडक मर्मतको काम थालिएको हो ।



वैशाख पहिलो सातादेखि मर्मतको काम सुरु हुने बताइएकोमा निषेधाज्ञाका कारण ढिलो भएको हो । भुवन निर्माण सेवाले ९० लाखमा सडक निर्माणको काम सुरु गरेको डिभिजन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर लक्ष्मणदत्त जोशीले बताए ।


जोशीले चोकमा कालोपत्रे गरिँदा ६ लेन सडक कै लेवल मिलाइने बताए । कालोपत्रेका लागि अलकत्रा प्लान्टबाट नै तयारी अवस्थामा आउने भएकाले धेरै समय नलाग्ने र मौसमले साथ दिएमा काम असार मसान्त भित्रमै सकिने इन्जिनियर जोशीको भनाई रहेको छ ।



