लागु औषध सहित ५ जना पक्राउ




कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागु औषध सहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार विशेष सूचनाको आधारमा प्रहरीले दोधारा चाँदनी नगरपालिका वडा नं. १ पक्की पुलस्थित भारतको उत्तराखण्ड राज्यको जिल्ला चम्फावत ग्राम भजनपुर बस्ने २१ वर्षीय अमन चन्दलाई ११ दशमलव ८७ ग्राम खैरो हिरोइन सहित पक्राउ गरेको हो । चन्दले चढेको भारतीय युके०६एइ९७५८ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ ।



त्यसैगरी दोधारा चाँदनी नगरपालिका वडा नं. ६ बस्ने १८ वर्षीय आदीप मगर र सोही ठाउँ बस्ने १८ वर्षीय सार्थक शर्मालाई ६० मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।


दुवै जनाले प्रयोग गरेको सुप प्रदेश०२००३प ३८०० नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ । पुनर्वास नगरपालिका वडा नं.६ ‘ङ’ गाउँ बस्ने २३ वर्षीय मनोज सुनार र कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ बस्ने २३ वर्षीय तेज विकलाई लागुऔषध नेट्राभेट ३४ ट्याबलेट र स्पामोबोकाप्लस १८ ट्याबलेट सहित सीमा क्षेत्रबाट पक्राउ गरिएको छ ।



