विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभइ व्यवहारिक र जीवनोपयोगी हुनुपर्ने : प्रधानमन्त्री प्रचण्ड




कञ्चनपुर– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभइ व्यवहारिक र जीवनोपयोगी हुनुपर्ने बताएका छन् । आइतबार कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्ने बताए ।



कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भने,’ विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभइ व्यवहारिक,जीवनोपयोगी तथा समाजको रूपान्तरणका लागि सहयोगी हुनुपर्दछ । विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तब्य पूरा गर्नसक्ने हुनुपर्दछ । ’ लोकतान्त्रिक मान्यताका पक्षमा दह्रो ढंगले उभिने, नवीनतम खोज, अनुसन्धान र विकासको गतिलाई पक्रिँदै नेपाललाई सुहाउँदो विकासको मार्गचित्र, अर्थतन्त्रको ढाँचाको खोजी, समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्नसक्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।


यसका लागि विश्वविद्यालयको शिक्षा समेत सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवम् प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको हुनुपर्ने बताउँदै उनले विश्वको शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दै अघि बढ्नु जरूरी रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले उच्चशिक्षा प्राप्त गर्न राजधानी काठमाडौं तथा भारतका सीमावर्ती क्षेत्रमा जानुपर्ने नियति बोकेका सुदूरपश्चिमका जनताको उच्चशिक्षामा पहुँच कायम गर्न यस विश्वविद्यालय महत्वपूणर् भूमिका खेलेको बताए । विश्वविद्यालयको स्तरोन्नति गर्न आवश्यक सहयोगका लागि नेपाल सरकार सदैव सकारात्मक रहेको बताए । उनले दीक्षित विद्यार्थीले आफूलाई समाजमा सभ्य, शिष्ट र इमान्दार नागरिकका रूपमा स्थापित गर्दै आफ्नो राष्ट्रप्रतिको कर्तव्यलाई जिम्मेवारीका साथ पूरा गर्नेमा विश्वास व्यक्त गरेका छन् ।



