

धनगढी– धनगढीको त्रिनगर कृषि उपज हाटबजारमा तरकारी बिक्री गर्न परिचयपत्र आवश्यक पर्ने भएको छ । धनगढी उपमहानगरपालिकाको कार्यालय अगाडि रहेको हाटबजारमा तरकारी बिक्री गर्न किसान परिचयपत्र आवश्यक पर्ने भएको हो ।


आर्थिक वर्ष २०७०/७१ देखि १० वर्षका लागि सिर्जनशील समाजको सिर्जना सिसिएस नामक संस्थाले हाटबजार सञ्चालन गर्दै आएको छ । त्रिनगर हाटबजारमा ठूला व्यापारीहरूले रजाइँ गर्न थालेपछि नयाँ नियम बनाउन लागिएको धनगढी उपमहानगरपालिकाका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बताए । उनले भने, ‘हाटबजारमा कृषकले आफ्नो उत्पादन बेच्ने हो । कृषक कोहो भनेर पत्ता लगाउन वडाबाट कृषकको नामावली मागेका छौँ । हाटबजारमा आफ्नो उत्पादन बेच्नेको नाम आउँछ । हामी उहाँहरूलाई परिचयपत्र दिन्छौँ ।’



धनगढीको त्रिनगर माध्यमिक विद्यालयको जमिनमा सञ्चालनमा रहेको हाटबजारको आम्दानीको ७० प्रतिशत विद्यालयले पाउने सम्झौतामा उल्लेख छ । (सिसिएस) नामक संस्थाले सञ्चालन गर्दै आएको हाटबजारमा तरकारी, फलफूल तथा कृषि उत्पादन बिक्रीका लागि कुनै नियम नै बनाएको थिएन । धनगढी उपमहानगरपालिकाले भारतीय तथा ठूला व्यापारीहरूले रजाइँ गर्दै आएका भन्दै नयाँ नियम लागू गर्ने भएको हो ।
जसअनुसार त्रिनगर हाटबजारमा कृषि उपज बिक्रीका लागि किसान परिचयपत्र अनिवार्य गर्न थालिएको हो। हाटबजारमा हाल एक हजार बढीले व्यापार गर्न अनुमति पाएका छन् । धनगढी उपमहानगरपालिका क्षेत्रका किसानलाई हाटबजारमा कृषि उपज बिक्रीका लागि पहिलो प्राथमिकता दिइने उपमहानगरले जनाएको छ । पहिलो चरणमा धनगढीका किसानलाई प्राथमिकता दिने र त्यसपछि मापदण्ड बनाएर अन्य पालिका तथा पहाडी जिल्लाका किसानका तरकारीलाई प्राथमिकता दिने उहाँको भनाइ छ ।
त्यस्तै धनगढी उपमहानगरपालिकाले भारतबाट ल्याइएका तरकारी, फलफूल हाटबजारमा बिक्री गर्न रोक लगाएपछि स्थानीय किसान उत्साहित बनेका छन् । भारतीय तरकारीले एकछत्र राज गरिरहेको बेला उपमहानगरपालिकाको निणर्यसँगै किसान उत्साहित बनेका हुन् । किसानले अब स्वदेशी उत्पादन बढ्ने बताएका छन् । भारतबाट आयात हुने तरकारीलाई विस्थापन तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उपमहानगरको नीतिअनुसार बिक्री रोक लगाइएको हो ।