

बैतडी- बैतडीमा फोटोसहितको मतदाता नामावली संकलन र अद्यावधिक कार्य सञ्चालनमा रहेको छ । यसअघि निर्वाचन कार्यालयमै सबै विवरण संकलन गरिने भएपनि हाल अनलाइन मार्फत आफैं नै भर्न सकिने व्यवस्था मिलाइएको हो ।



नागरिकता बनाएर यसअघि नामावलीमा नाम दर्ता नगराएकाहरुले अनलाइन मार्फत आफ्नो विवरण भरेर नाम दर्ता गराउनसक्ने जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीले जानकारी दिएका छन् । उनले भन्ने, “निर्वाचन आयोगको वेभसाइट धधध।भभिअतष्यल।नयख।लउ मा गएर अनलाईनमार्फत आफ्नो विवरण आफैं भर्न सक्ने व्यवस्था छ । अनलाईन विवरण भरिसकेपछि आवेदन नम्बर ल्याएर निर्वाचन कार्यालयमा फोटो र फिंगर प्रिन्ट लिनुपर्छ । त्यसपछि नामावलीमा नाम दर्ता हुन्छ ।” नामावलीमा यसअघि नाम दर्ता गराउन छुटेका सम्पूणर्लाई नाम दर्ता गराउन आग्रह गरिएको छ । जिल्लामा अनलाईनमार्फत हालसम्म एक सय ६५ जनाले आफ्नो नाम दर्ता गराएका कम्प्युटर अपरेटर जोशीको भनाई छ ।


गत मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि स्थगित भएको नामावली संकलन कार्य गएको माघ १७ गतेदेखि पुनः सुचारु भएको हो ।सोह्र वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकहरुले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता १६ वर्षमा हुने भएपनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्दछ ।
नामावलीमा नाम दर्ता गर्नका लागि नेपाली नागरिकताको प्रमाण पत्र, विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाण पत्र, बसाइसराई गरेर आएकाहरुको हकमा बसाइसराईको प्रमाणपत्र आवश्यक पर्ने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । यसअघि गत मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बैतडीमा १ लाख ५० हजार १ सय ५६ मतदाता रहेका थिए ।