सडक कालोपत्रे, पुल अलपत्र

बैतडी- बैतडीको सतबाँझ–श्रीभावर–हाट हुँदै दार्चुला सडक कालोपत्रे सुरु भए पनि हाटस्थित जमाडी नदीको चार करोडको पुल तीन वर्षदेखि अलपत्र परेको छ। प्रदेश गौरवको आयोजनाका रूपमा सो सडक निर्माण तथा कालोपत्रे हुँदै छ। सो सडकखण्डको पुरचौँडी नगरपालिका–१, खडिखेतनजिकै जमाडी नदीमा निर्माण भइरहेको पुलको करिब डेढ करोड भुक्तानी भइसके पनि पुल निर्माण भने अलपत्र परेको छ।

यो सडकखण्डको रिगा पत्थरकोटमा पर्ने अर्को पुलका विषयमा ठेक्का नै आह्वान हुन सकेको छैन। आर्थिक वर्ष २०७६/७७ मा जगदम्बा कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो। भुक्तानी लिएर ठेकेदारले पुल निर्माण नगरेपछि अघि–अघि पुल अलपत्र, पछि–पछि कालोपत्रे सडक बन्न थालेको छ। यो प्रदेश गौरवको सडक रूपमा रहेको सतबाँझदेखि साढे छ किलोमिटर र श्रीभावरदेखि हाटखण्डमा साढे आठ किलोमिटर कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भएर काम भइरहेको छ।

Navadurga sun
Godawari sandesh

चन्द्रा एन्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेर काम गरिरहेको पूर्वाधार विकास कार्यालय बैतडीले जानकारी दिएको छ। गौरव आयोजनाको सडक चौडा गर्दै कालोपत्रेको ठेक्का पाएका ठेकेदारले धमाधम कालोपत्रेको काम गरिरहे पनि पुल निर्माण गर्ने ठेकेदारले भने काम सम्पन्न गर्ने सुरसार देखाएका छैनन्।

Dadeldhura hospital

स्थानीयवासी केपी बडूका अनुसार सङ्घीय सरकारको ससर्त अनुदानमा चार करोड ७० लाख रुपियाँको लागतमा पूर्वाधार विकास कार्यालय बैतडीले हेर्ने गरी निर्माण भइरहेको पुल अलपत्र छ। गत असारमै सम्पन्न हुनुपर्ने पुल निर्माणको काम अलपत्र परे पनि पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीको दुई पटक ठेक्काको म्याद थपिसकेको छ।

यो अवधिमा पूर्वाधार विकास कार्यालयबाट ठेकेदारले एक करोड ३८ लाख रकम भुक्तानी पाइसकेको कार्यालले जनाएको छ। पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख जङ्गबहादुर थापाले पुल निर्माण गर्न पटक–पटक ठेकेदारलाई ताकेता गरेको बताए । असारसम्म पुल निर्माण सम्पन्न नगरे कारबाही अघि बढाउने उनले बताए । पूर्वाधार विकास कार्यालय बैतडीका साइट इन्जिनियर नमेश भुलले पुलको ५० प्रतिशत काम पूरा भएको बताए ।

दुई दशकअघि निर्माण सुरु भएको सतबाँझ–श्रीभावर–हाट सडकखण्ड निर्माणले गति लिए पनि जमाडीमा पुल नहुँदा पुरचौँडीवासी समस्यामा परेका छन्। यो सडकखण्डले बैतडी सदरमुकाम हुँदै सतबाँझबाट सुर्नया गाउँपालिका पुग्न छ किलोमिटर, सिगास गाउँपालिका पुग्न २१ किलोमिटर र पुरचौँडी नगरपालिका पुग्न ५० किलोमिटर मात्रै दूरी हुनेछ।

डडेलधुरा–बैतडी जोड्ने दशरथचन्द मार्गको ८५ किलोमिटर कालोपत्रे सडकपछि सतबाँझ श्रीभावर–हाट–दार्चुला सडक दोस्रो महत्वपूर्ण सडक हुनेछ। यो सडक निर्माण सम्पन्न भए घण्टौँ पैदल हिँड्न बाध्य सुर्नया गाउँपालिका, सिगास गाउँपालिका र पुरचौँडी नगरपालिका गरेर करिब एक लाख स्थानीयवासी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। सतबाँझ–श्रीभावर सडकले बैतडीबाट सबैभन्दा टाढा रहेको सिगास गाउँपालिकालाई बैतडी सदरमुकाम जोड्ने सिगासका स्थानीय युवा पदम रोकायले बताए । गोरखापत्रबाट

 

Loading...