कोरोनाका कारण बानका अध्यक्ष न्यौपानेको निधन




काठमाण्डौ- व्यवसायीक रेडियोहरूको छाता संगठन ब्रोकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ । ५० वर्षीय न्यौपानको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनको उपचारको क्रममा रेमडिसिभर औषधी प्रयोग गरिएको थियो भने प्लाज्मा थेपारी पनि गरिएको थियो ।



उनको उपचारको क्रममा विराटनगरको विराट मेडिकल कलेजमा आज बिहान साढे ८ बजे निधन भएको हो । उनी कोरोना संक्रमण भई १८ दिनदेखि उपचाररत थिए । उनलाई केही दिन आइसियुमा र त्यसपछि स्वास्थ्यमा सामान्य सुधार आएपछि एचडियुमा राखिएको थियो ।


फेरि स्वास्थ्यमा समस्या देखिएपछि केही दिन देखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । इटहरी निवासी न्यौपाने नेपाल विज्ञापन बोर्डको सदस्य र सप्तकोसी मिडिया प्रालीद्वारा सञ्चालित सप्तकोसी एफएमका स्टेसन म्यानेजरसमेत थिए । नेकपा एमालेको प्रचार विभागको सदस्य थिए ।
हालसम्म नेपालभर १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ भने ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् ।



