बैतडी– बैतडीको खोड्पे बजार व्यवस्थित पार्न थालिएको छ। तीन जिल्ला बैतडी, दार्चुला र बझाङका यात्रुहरू आउने मुख्य चौराहाका रुपमा चिनिएको यो बजारलाई अहिले व्यवस्थित पार्न थालिएको हो। खोड्पे बजारलाई सुन्दर व्यवस्थित बनाउन अहिले सरोकारवालाहरुले विभिन्न प्रयास गरिरहेका छन्।



खोड्पे बजार व्यवस्थापन समिति, जनप्रतिनिधि, खोड्पे प्रहरी चौकीलगायत सरोकारवालहरुको सर्वपक्षीय बैठकले मंगलबार बजार क्षेत्रमा जथाभावी पार्किङ गर्न र ठूलो आवाजमा गाडीका हर्न बजाउन नपाइने निर्णय गरेको वडा अध्यक्ष हरिश विष्टले जानकारी दिए।



अध्यक्ष विष्टले बजारलाई प्रदुषणमुक्त र दुर्घटनारहित बनाउन मंगलबार बसेको बैठकले हर्न निषेध र पार्किङ गर्न नपाइने निर्णय गरेको बताए। मंगलबार गरिएको निर्णय कसैले उल्लंघन गरेमा कारबाही गरिने बजार व्यवस्थापन समितिले जनाएको छ।
यस्तै, टिकट काउन्टरमा मात्रै काट्ने, पसलहरुमा मूल्यसूची राख्ने र बजार क्षेत्रमा लुडो खेल्न नपाइनेसमेत निर्णय भएको उनले बताए। साथै, उनले निर्णयको कार्यान्वयनका लागि पनि सबैलाई अनुरोध गरेका छन्।
बुधबारदेखि लागु हुने गरी निर्णय भएकाले कार्यान्वयनका लागि उनले सबैमा आग्रह गरेका हुन्। यस्तै वडाको सहयोगमा बजार क्षेत्रलाई सुन्दर बनाउन र नागरिकलाई जानकारीसहित सचेत पार्न स्वागतम् लेखिएको बोर्ड, हर्न निषेध, फोहोर निषेध, सीमा प्रारम्भ, सीमा समाप्त, लेखिएका बोर्ड र सरसफाइ सामग्रीसहित ६० वटा डस्टबिन खरिद गर्ने निर्णयसमेत भएको वडा अध्यक्ष विष्टले बताए। ध्वनी प्रदुषणमुक्त बनाउने उद्देश्यले जिल्लाका अन्य बजारहरुमा पनि अहिले हर्न बजाउन निषेध गरिँदै छ।




