पानी छैन, आँसु छ

बैतडी- बैतडीको सुर्नया गाउँपालिका–५ को पल्लो धुलिधारमा खानेपानीको हाहाकार छ। तल खोलाबाट दुई घण्टा दिनहुँ पानी बोक्नु पर्दा यहाँका अधिकांश महिलाको पाठेघर खस्ने समस्या छ। यहाँका बासिन्दाले जनप्रतिनिधि वा पार्टीका नेतासँग धुरुधुरु रोएर खानेपानीकै माग गर्ने गरेका छन्।

२०७४ सालको निर्वाचनमा खानेपानीको माग गरेका मतदाताले पाँच वर्षसम्म पनि माग पूरा नभएको बताए। चुनावका बेला खानेपानी दिन्छु भनेर उम्मेदवारले भोट मागे पनि चुनावी वाचा पूरा नहुँदा यस पटकको निर्वाचनमा समेत धुलिधारवासीले खानेपानीकै माग दोहोयाएको स्थानीय भरत विष्टले बताए ।

Navadurga sun

उनले भने, ‘गाउँमा मत माग्न आउने उम्मेदवारसँग हाम्रो माग भनेको खानेपानीको धारा चाहियो भन्ने छ। गाउँमा पानी नहुँदा तल खोलाबाट दुई घण्टा पानी बोकेर खानु परिरहेको छ। पिठ्युँमा जर्किन राखेर उकालोमा पानी बोक्दा आँखाबाट आँसु चुहिने गरेका छन्। करिब ५० घरधुरीको बसोबास रहेको धुलिधारको मुख्य पीडा भनेकै खानेपानीको समस्या हो।’

२०५० सालमा निर्माण भएको गाउँको पुरानो खानेपानी योजना जीर्ण हुँदा खानेपानीको चर्को समस्या भोग्नु परेको स्थानीय महिला सरस्वती विष्टले बताए । हिउँद लागेपछि खानेपानीको हाहाकार हुन थालेपछि दुई घण्टा पैदल हिँडेर पानी बोक्नु परेको उनले बताए ।

चुनावका बेला खानेपानीको समस्या समाधान गर्ने आश्वासन मिले पनि चुनाव जितेपछि उम्मेदवार गाउँ नफर्किंदा खानेपानीको समस्या समाधान नभएको स्थानीय केशव विष्टले बताए । गाउँमा भोट माग्न आउने सबै उम्मेदवारले खानेपानीको व्यवस्थापन गर्ने आश्वासन दिएको उनले बताए ।

गत स्थानीय तहको निर्वाचनमासमेत पल्लो धुलिधारका बासिन्दाले खानेपानीकै माग राखेका थिए तर अहिलेसम्म खानेपानीका लागि कसैले पहल नचालेको स्थानीय चन्द्रबहादुर विष्टले गुनासो गरे । धुलिधारवासीलाई खानेपानीको धारा र बाह्रै महिना गाडी चल्ने स्तरीय सडक भइदिए विकासको अनुभूति हुने अपाङ्गता भएका जनक विष्टले बताए । हिँडेर खोलामा जान नसक्दा नुहाउन नपाएको महिनौँ भएको उनले पीडा सुनाए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...