अत्तरिया– कैलालीमा अवरुद्ध पारिएको पूर्वपश्चिम राजमार्ग खुलेको छ । बिहानैदेखि राजमार्ग अवरुद्ध पारिएकोमा बुधबार ढिलो गरी सडक खुलाइएको प्रहरीले जनाएको छ ।


बुधबार बिहान जिल्लाको गोदावरी नगरपालिकास्थित लालपुरमा भएको दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध पारेका थिए । दुर्घटनामा टिपरले अटोरिक्सालाई ठक्कर दिँदा बालकको मृत्यु भएको थियो । सोही घटनालाई लिएर स्थानीयले विरोध स्वरुप सडक बन्द गरेका थिए ।



बुधबार लालपुरमा पूर्वबाट पश्चिमतर्फ आइरहेको सुपप्र ०१००१ क २०२० नम्बरको टिप्परले सुपप्र ०१००१ ह ४९१८ को अटोलाई ठक्कर दिँदा बालकको मृत्यु भएको थियो । टिप्परको ठक्करबाट अटोमा सवार ३ वर्षीय बालक भरत ठकुल्लाको मृत्यु भएको हो । ठकुल्लाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।
उनको मृत्यु भएपछि हरैयामा तनाव उत्पन्न भएको थियो । उनकी २९ वर्षीया आमा पेन्टी ठकुल्ला पनि दुर्घटनामा घाइते भएकी छन् । उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । अटोचालक २८ वर्षीय मोहन बोहरा पनि घाइते भएका छन् ।
टिपर र चालक धनगढी उपमहानगरपालिका ७ बस्ने ४२ वर्षीय प्रदिप चौधरी र टिपरलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । पीडिप पक्षलाई क्षतिपुर्ति दिलाउने, घाइतेको उपचार गर्ने र दुर्घटना क्षति भएको अटो मर्मत गर्ने सहमतिपछि सडक खुलाइएको प्रहरीले जनाएको छ ।
यसअघि दिउँसो प्रहरीले बल प्रयोग गरेर सडक खुलाउन खोज्दा प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । झडपमा ३९ राउण्ड अश्रुग्यास प्रहार पनि भएको थियो ।