

धनगढी- कञ्चनपुरमा एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–६ ङ गाउँबाट सशस्त्र प्रहरीले अवैध लागुऔषध (खैरो हेरोइन) सहित उनलाई समातेको हो। प्रहरीका अनुसार पक्राउ परेका ती युवक शुक्लाफाँटा नगरपालिकाकी उपमेयर कल्पना जोशी (पन्त) का ३० वर्षीय छोरा पंकज पन्त हुन्।


शनिबार दिउँसो सशस्त्र प्रहरीको पुनर्वासस्थित बर्डर आउट पोष्ट (बीओपी) बाट खटिएको टोलीले पुरानो उनलाई खैरो हेरोइनसहित पक्राउ गरेको थियो। भन्सारस्थित चेक प्वाइन्टबाट शुक्लाफाँटा नपा–११ कलुवापुर घर भएका पन्तलाई पक्राउ गरिएको हो। उनका साथबाट २०।४ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेपछि उनलाई छुटाउन विभिन्न ठाउँबाट दवाब आइरहेको प्रहरी स्रोतले दाबी गरेको छ। उनलाई छाड्न दबाव दिँदै कांग्रेसका शीर्ष नेताहरूको फोन आइरहेको बताइएको छ।



उनका साथबाट से ३ प ८६९१ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ। पन्तले पुनर्वाससँग सीमा जोडिएको भारतको बसहीस्थित मिलन बजारबाट लागुऔषध खरिद गरी ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पन्तलाई प्रहरीले थप अनुसन्धानका लागि हिजै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाएको थियो। उनी अहिले पनि सोही प्रहरी कार्यालयमा छन्। यस्तै शनिबार राति भीमदत्त नपा-३ जनज्योति चोकबाट पनि लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भीमदत्त नपा-३ बस्ने २७ वर्षीय दिनेश कुँवर र सोही नगरपालिका ४ बस्ने ३८ वर्षीय अनिलसिंह रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कञ्चनपुरबाट खटिएको प्रहरीले दिनेशलाई १.९५ ग्राम र अनिललाई ३.९ ग्राम लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।
कैलालीको कैलारी गापा-५ बैजपुरबाट पनि लागुऔषधसहित ३ जना समातिएका छन्। प्रहरीका अनुसार ३४.५१० ग्राम लागुऔषधसहित भारत बस्ने ५५ वर्षीय शेरसिंह लगायत २ जना समातिएका हुन्। शनिबार दिउँसो इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले युपी ३१ बीएक्स ८०९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ।