धनगढी– कैलालीमा १५३ जनामा एचआईभी/एड्स संक्रमित थपिएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा कैलालीमा १ सय ५३ जनामा एचआईभी/एड्स संक्रमण थपिएका हुन् । एचआईभी/एड्स दिवसको अवसरमा धनगढीमा बुधबार सञ्चारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रममा गरी उक्त कुराको जानकारी गराएको हो ।




एचआईभी/एड्स दिवसको अवसरमा बिहिबार धनगढी चौराह देखि उपमहानगरपालिका भवन सम्म जनचेतनामुलक र्याली समेत गरिने जनाएको छ । जिल्लामा अहिलेसम्म एचआइभी एड्सकै कारण ४ सय ३८ जनाको मृत्यु भइसकेको तथ्यांकले देखाएको छ । सुदूरपश्चिममा ३ हजार ५ सय ७३ संक्रमितले मात्र एन्टीरेट्रोभाइरस एचआईभी एड्सको उपचारमा छन् । ८ सय संक्रमितको अझै पत्ता लागेको छैन् ।







सबैभन्दा बढि कैलालीमा १ हजार ६ सय ३४, डोटीमा ४ सय ९३ र डडेल्धुरामा १ सय १८ एचआईभी संक्रमित रहेको स्वास्थ्य कार्यालय कैलालीका एचआईभी सम्पर्क व्यक्ति देवदत्त जोशीले बताए । सुदूरपश्चिमका हरेक जिल्लामा एचआईभी संक्रमित रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो एक वर्षको अवधिमा सुदूरपश्चिममा ६५ हजार महिलाहरु सुत्केरी भएकोमा ५१ हजार महिलाले विभिन्न अस्पतालमा जाँच गराएकोमा तीन जनामा एचआईभी संक्रमण देखिएको निर्देशनालयको तथ्यांक छ ।
कैलालीमा मात्र गत वर्ष महिला ५९ र पुरुष ७९ गरी १ सय ५३ जनामा यो संक्रमण देखिएको छ । २ सय ६० जना बालबालिका यो संक्रमणबाट पीडित छन् । संक्रमितहरुको भाइरल लोड परिक्षण केन्द्र सेती प्रादेशिक अस्पतालमा मात्र छ । संक्रमितहरुलाई आवश्यक पर्ने औषधिका लागि भने १७ स्थानमा औषधि खाने साइटहरुको व्यवस्था गरिएको छ । एचआईभी एड्सकै कारण गत वर्ष कैलालीमा ३८ जनाको मृत्यु भएको छ ।
नेपालमा हरेक वर्ष यही संक्रमणका कारण ५ सय १० को जनाको मृत्यु हुँदै आएको छ । नेपालमा पहिलो पटक सन १९८८ मा एचआईभी/एड्सको पहिलो व्यक्ति पत्ता लागेको थियो । देशभर कुल ३० हजार एचआईभी संक्रमितमध्ये २१ हजार ७ सय २३ ले मात्र एन्टीरेट्रोभाइरस (एचआईभी एड्स) उपचारमा छन् । ५ हजारको अझै पत्ता लागेको छैन भने ३ हजारलाई उपचारमा ल्याउन सकिएको छैन् ।
सन २०२१ सम्म एचआईभी एड्स संक्रमितको संख्या विश्वभर ३ करोड ८४ लाख पुगेको छ । १५ लाख नयाँ संक्रमित थपिएका छ । विश्वमा अहिले पनि १ लाख बालबालिका यो संक्रमणबाट पीडित छन् ।




