अत्तरिया- सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी रहेको गोदावरीमा छाडा चौपाया व्यवस्थापनका लागि दिर्घकालीन योजना बन्ने भएको छ । मुख्य प्रवेशद्धारका रुपमा रहेको अत्तरिया बजारमा पुर्वदेखी पश्चिम सबै क्षेत्रका यात्रुहरुको आवागमनले बढी मात्रामा भिडभाड हुने भएकोले छाडा चौपायाका कारणले अत्तरिया बजारको रुपरेखा नै नराम्रो भएको देखिन्छ ।


विकराल रुपमा देखिएको छाडा चौपायाको व्यवस्थापनका लागी यसअघि नगरपालिकाले लाखौ बजेट विनियोजन गरेको भएपनि समस्या समाधान हुन सकेको छैन । समस्याको समाधानका लागी बजेट विनियोजन मात्रै उपयुक्त विकल्प नभएको भन्दै हाल गोदावरी नगरपालिकाले त्यसको दिर्घकालिन समाधानका लागी योजना बनाउन सुरु गरिसकेको छ ।


गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले गोदावरीमा रहेका छाडा पशु चौपायाहरुको दिर्घकालिन समाधानका लागी विस्तृत योजना तयार गर्ने कार्य सुरु भएको बताएका हुन् । देशका विभिन्न स्थानमा व्यवस्थीत पशु गौशाला सञ्चालन गरीरहेका योगी पिताम्बर नाथसँग समन्वय गरी छाडा चौपायालाई कसरी दिर्घकालिन समाधान गर्न सकिन्छ भन्ने तिर नगरपालिका लागिरहेको नगर प्रमुख भट्टले बताए ।
‘हाम्रो नगरमा लामो समयदेखी छाडा चौपायाको समस्या विकराल छ, ७४ सालदेखी ७८/७९ सम्म यसको समाधानका लागी ठुलो धनराशी खर्च भैसकेको अवस्था । हिजोको दिनमा नगरपालिकाले जुन तरिकाले यसको समाधानका लागी बजेट खर्च गर्यो त्यस्तो तरिकाबाट यसको दिर्घकालिन समस्या समाधान हुन सक्दैन भनेर विभिन्न सर्वेक्षणहरु गरिरहेको अवस्था हो’ उनले भने, ‘त्यसै सिलसिलमा पिताम्बर जि सँग समन्वय भएको छ । उँहाले देशभर विभिन्न स्थानमा १४ वटा गौशालाहरु निर्माण गर्नुभएको छ र ति गौशालाहरुलाई व्यवस्थीत तरिकाले सञ्चालन पनि गरिराख्नु भएको छ । उहाँबाटै गौशाला निर्माण र व्यवस्थापनको लागी विस्तृत योजना सहित अगाडी बढिरहेका छौ नगर प्रमुख भट्टले भने ।’
नगरप्रमुख भट्टसहितको टोलीले योगी पिताम्बर नाथले सञ्चालन गरेको बर्दियाको कर्तनियामा रहेको गौशालाको अवलोकन गरेको थियो । उक्त अवलोकनबाट प्रभावित भएर योगी पिताम्बरबाट यसको समाधानका लागी योजना निर्माणमा सहयोग मागेको नगरप्रमुख भट्टले बताए । उनले भगवानको रुपमा पनि पुजिने भएकाले गाईको वास्तबिक महत्वको बारेमा स्थानियलाई जागरुक बनाई गौशाला निर्माण गर्ने योजना रहेको बताए ।

‘हाम्री दुध दिने समयसम्म गाई पाल्ने त्यसपछि छाडा छोड्ने गर्दछौ, त्यसकारणले यो समस्या निम्तिएको हो’ उनले भने, ‘तर अब गौशाला निर्माण भयो भने त्यो गौशामा दुध दिन बन्द गरेका गाईहरु राख्ने र त्यहाँबाट दुध दिने गाईहरुलाई ल्याएर आउने गर्न मिल्छ ।’ गाईको संख्या बढाउने भन्दा पनि गाई पाल्ने मान्छेको संख्या बढाउने अभिप्रायका साथ नगरपालिका अगाडी बढिरहेको नगरप्रमुख भट्टले बताए । उनले गाई पाल्नेको संख्या बढे बजारमा छाडा चौपाया कसैले पनि नछोड्ने विश्वास व्यक्त गरे ।
उनले गाई पाल्ने मानिसको संख्या बढे छाडा चौपायाको समस्या आफै समाधान हुने बताए । उनले गौशालामा पशु छोड्दा केही सानो रकम दिनुपर्ने बताए । उनले त्यो रकम गौशालाको व्यवस्थापनका लागी मात्रै भएको र त्यो चन्दाको रुपमा अथवा गौशाला संरक्षणको रुपमा दिनुपर्ने बताए ।
गौशाला निर्माण र व्यवस्थापनका लागी सुरुवाती चरणमा गोदावरी नगरपालिकाले बजेट विनियोजन गरेपनि पछि भने गौशाला स्वयम्ले त्यसको व्यवस्थापन गर्ने नगरप्रमुख भट्टले बताए । गौशाला निर्माण पश्चात त्यसलाई पर्यटकिय पार्कको रुपमा पनि विकाश गरिने उनको भनाई छ । जनतालाई गाईको महत्वका बारेमा जागृत गराएर मात्रै छाडा चौपाया समस्याको समाधान हुने नगर प्रमुख भट्टले बताए ।
नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागी निर्माण गर्ने गौशालाको विषयमा केही दिन अघि मात्रै नगरपालिकाको वडा नं. ७ मा भेला बसेको थियो । उक्त भेलामा नगरपालिकाले निर्माण गर्ने गौशालाका लागी आवश्यक क्षेत्र प्रदानका लागी छलफल भएको थियो । सो वडामा ४ वटा सामुदायीक बनहरु रहेका छन । ति बनहरुमा चरन क्षेत्र पर्याप्त हुने भएकाले नगरप्रमुख भट्टले उक्त स्थानमा रहेका स्थानियबासीहरुसँग छलफल गरेका थिए । छलफलका क्रममा गौशाला निर्माणका लागी सोही वडाको गोलादेउ सामुदायीक बनसँग सहमती भएको नगरप्रमुख भट्टले बताए ।
उनले नगरभित्र रहेका सबै पशु चौपायाहरुलाई राख्नका लागी ठुलो क्षेत्र आवश्यक पर्ने र उनिहरुको चरनको लागी पनी सहज हुने भएकाले सामुदायीक बनहरुसँग छलफल चलाएको बताए । उनले उक्त वडामा रहेका अन्य सामुदायीक बनहरुले भने चौपायाको चरन क्षेत्रका लागी सहयोग गर्ने बताए ।
नगरपालिकाले निर्माण गर्ने गौशालाको सञ्चालन र व्यवस्थापनका लागी एउटा समिति गठन गरिने र उक्त समितिले गौशाला निर्माणको कामका साथै त्यसको व्यवस्थापनको समेत जिम्मेवारी लिने बताईएको छ । त्यसका साथै गौशालाको व्यवस्थापनका लागी समय समयमा स्थानिय एवम् गौशाला सञ्चालकलाई प्रशिक्षण दिने तथा अनुगमन गर्ने कार्य योगी पिताम्बरले गर्ने नगरप्रमुख भट्टले बताए ।





