धनगढीः धनगढीको चटकपुरस्थित धनगढी नेत्रालय आँखा अस्पतालले शुक्रबार आफ्नो ५औँ वार्षिकोत्सव मनाएको छ । अस्पतालले एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।



वार्षिकोत्सवको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरिएको बताइएको छ । कार्यक्रममा धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दको सभापतित्व र नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष चक्रबहादुर सिंहको प्रमुख आतिथ्य रहेको थियो ।
धनगढी उपमहानगरपालिका वडा नं.४ का वडा अध्यक्ष बुद्धिबहादुर खड्काले अस्पतालले आँखा सम्बन्धि बिरामीहरुलाई गुणस्तरीय सेवा सुपथ मुल्यमा सहज रुपमा प्रदान गरिरहेको र अब धनगढीका बासिन्दाले आँखा उपचारको लागि टाढा जानु नपर्ने हुँदा खुसी भएको बताए ।


नेपाल नेत्रज्योति संघ कैलालीका सभापति एवं गेटा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिव्यप्रसाद पन्तले गेटा आँखा अस्पताल पनि स्थापनाकालमा सानो स्वरुपमा रहेको र पछिआएर विसाल अस्पतालको रुप लिएकोले धनगढी नेत्रालयले पनि समयसँगै अझै विकास गर्दै जाने विश्वास व्यक्त गरे ।

सो अवसरमा अस्पतालको वेबसाइट लन्च गरिएको थियो । अस्पतालले स्थापनाकालदेखि हालसम्म गरेका क्रियाकलापबारे तयार पारिएको पुस्तक पनि विमोचन गरिएको थियो । वेबसाइट लन्च प्रमुख अतिथि सिंहले गरेका थिए भने पुस्तक विमोचन च्यारिटी हेल्थ फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष एवं प्राज्ञ वासुदेव पाण्डेयले गरेका थिए ।
अस्पतालले ५ वर्षको अवधिमा अस्पताल र आँखा शिविरहरु गरी २ लाख २० हजार भन्दा बढी व्यक्तिहरुको आँखा जाँच गरिसकेको र लगभग १८ हजार जनाको शल्यक्रिया गरेको जनाएको छ । जसमध्ये १२ हजार भन्दा बढी निःशुल्क शल्यक्रिया रहेका छन् । अस्पतालले २५ हजार भन्दा बढी निःशुल्क नजिकको लेखपढ गर्ने चश्मा वितरण गरेकोछ । निःशुल्क शल्यक्रिया र निःशुल्क चश्मा वितरण च्यारिटी हेल्थ फाउन्डेसन नेपालको सहयोगमा गरिएको बताइएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य अस्पतालका नेत्र अधिकृत गोकणर् प्रसाद भट्टले राखेका थिए । प्रमुख अतिथि सिंहले आँखा स्वास्थ्यका हिसाबले अन्य क्षेत्रहरुभन्दा सुदूरपश्चिम अग्र स्थानमा रहेको भन्दै खुसी व्यक्त गरे । सभापति चन्दले अस्पतालले भविष्यमा अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा वरिष्ठ नेत्र विशेषज्ञ डा. सुजाता भण्डारी, वरिष्ठ नेत्र विशेषज्ञ डा. रविधर भण्डारी, च्यारिटी हेल्थ फाउन्डेसन नेपालका महासचिव लक्ष्मीकान्त ढकाल, कोषाध्यक्ष राधा चन्द, कार्यक्रम संयोजक त्रैलोक्यनाथ पाण्डेय एवं अस्पतालका कर्मचारीहरुको सहभागिता रहेको थियो ।




