


अत्तरिया- कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको एउटा बस्तीमा २० वर्षपछि बिजुली पुगेको छ । वडा नम्बर ३ को दक्षिण कटान टोलमा पहिलो पटक बिजुली बत्ति पुगेको हो । विगतदेखि अध्यारोमा बस्न बाध्य रहेका उक्त टोलका बासिन्दाहरुले अहिले आएर बिजुलीको उज्यालो देख्न पाएका छन ।



गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अघि चुनावी अभियानका क्रममा उक्त टोलमा बिजुली पुर्याउने प्रतिबद्धता व्यक्त गरेका नगरप्रमुख विरेन्द्र भट्टले चुनाव जितेको करिब दुई महिना भित्रै प्रतिबद्धता पुरा गरेका हुन । चुनावमा विजयी भएको सुरुवाती चरणमै आफ्नो टोलमा बिजुली बत्ति पुर्याएको भन्दै टोलबासीहरुले खुसी व्यक्त गरेका छन । सोमबार नगरपालिका कार्यालयमा नै पुगेर टोलका करिब १०/१२ जना महिलाहरुले नगरप्रमुख भट्टलाई खादा ओढाएर सम्मान गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।


दक्षिण कटान हाम्रो बस्ती खल्लाको किनारमा रहेको टोल हो । सुकुम्बासीबाट आएका हामी उक्त किनारमा २० बर्ष देखि नै अध्यारोमा बस्न बाध्य थियौ नगरप्रमुख भट्टलाई खादा लगाउदै स्थानीय माता देवी नेपालीले भनिन् ‘मेयर सापले गर्दा बिजुली पाएका छौ, उहाँप्रति धेरै आभारी छौ । उहाँले आफ्नो बचन पुरा गर्नुभएको छ ।’ उनले यसअघि बिजुली नहुँदा रातीको समयमा सर्प, बिच्छि लगायतका विषालु जनावरहरुको डरका बाबजुद पनि गर्मीको समयमा आँगनमा सुत्नुपर्ने बाध्यता रहेको बताईन् ।
त्यसैगरी सोही बस्तीकी स्थानीय दिपा थापा ले नगरप्रमुख भट्टले बोलेका कुराहरु पुरा गरेकोमा खुसि व्यक्त गरिन् । ‘यसअघि पनि पटक-पटक सबै सम्बन्धीत निकायमा धायौँ, सबैलाई अनुनय विनय ग-यौ, तर कसैले हाम्रो गुनासो सुनेन’ उनले भनीन् ‘तर निर्वाचीत भएर आएलगत्तै मेयर सापले हाम्रो माग पुरा गरिदिनुभयो, उहाँलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छौ ।’ उनले विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य समुदायले पहिलो पटक बिजुली बत्तिको अनुभव गर्न पाएको बताईन् ।





