सुदूरपश्चिम राजधानी कपको उपाधि वनदेवी युवा क्लबले हात पार्यो
आगामी बर्ष खेलकूद निर्माण गर्ने जिम्मेवारी सामाजिक विकास मन्त्रालयको हुने : मन्त्री सुवेदी


अत्तरिया- कैलालीको अत्तरियामा भएको जिआईसी सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिताको उपाधि वनदेवी युवा क्लबले जितेको छ । गोदावरी नगरपालिका वडा नं.३ मा रहेको मालिका खेल मैदानमा यही चैत १२ गते देखि भएको प्रतियोगिता आज (शनिबार) सम्पन्न भएको छ । उक्त फुटबल प्रतियोगितामा १२ ओटा टिमको सहभागिता रहेको थियो ।


पिएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा भएको दोस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिताको उपाधि अत्तरियाकै वनदेवी युवा क्लबले जितेको हो । शनिबार अत्तरियामा भएको फाईनल खेलमा वनदेवी युवा क्लबले माउण्ट एभरेष्ट युवा क्लबलाई १-० ले हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएकोमा दोस्रो हाफको ३ मिनेटमा चेतमान कडायतले गोल गरेर खेलको निर्णायक जित गराउन सफल भएका थिए ।



उपाधि जिताउन गोल गरेका चेतमान फाईनलका म्यान अफ द म्याच भए । उनले नगद २ हजार सहित ट्रफी र मेडल प्राप्त गरे । वनदेवी युवा क्लबले उपाधिसँग नगद ४ लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता भएको माउण्ट एभरेष्ट युवा क्लबले नगद २ लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी वनदेवी युवा क्लबका दिपेन्द्र मलासी भएका थिए । उनले नगद १५ हजार सहित ट्रफी र मेडल प्राप्त गरे । त्यसैगरी प्रतियोगितामा वनदेवी युवा क्लबका धनवहादुर थापा उत्कृष्ट रक्षक, वनदेवीकै टेकेन्द्र थापा उत्कृष्ट गोलरक्षक, वनदेवी युवा क्लबकै चेतमान कडायत उत्कृष्ट फरवार्ड, वनदेवीकै नरेन्द्र रावत उदयमान खेलाडी र माउण्ट एभरेष्ट युवा क्लबका गणेश बुढाथोकी उत्कृष्ट मिडफिल्डर भएका छन । विभिन्न विधाहरुका उत्कृष्ट खेलाडीहरुले जनही समान १०/१० हजार रुपैया सहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । आयोजक पिएफए स्पोर्टस् क्लबका अध्यक्ष योगेश भट्टको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी रहेका थिए ।

उक्त सम्पन्न कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले खेल मैदाना निर्माण गर्ने कार्यमा मेरो पूणर् साथ र सहयोग रहेको बताएका छन् । सामाजिक विकास मन्त्रीको नाताले खेल मैदान निर्माण गर्ने जिम्मा मेरो भएकोले कति बजेट लाग्छ तेसको स्टेमिट गरी जेठ पहिलो हप्ता भित्र सामाजिक विकास मन्त्रालयमा आउन समेत आग्रह गरेका छन् । आगामी बर्ष खेलकूद निर्माण गर्ने जिम्मेवारी सामाजिक विकास मन्त्रालयको मन्त्रीको नाताले मेरो हुनेछ भनेर प्रतिवद्धता समेत व्यक्त गरेका थिए । मन्त्री सुवेदीले आफु जनताको नौकर भएको समेत बताए ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंह, अखिल नेपाल फुटबल संघका महासचिव ईन्द्रमान तुलाधर, किर्तिमानी खेलाडी दिपक बिष्ट लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी गोदावरी घोषणा भएपछि राजधानी कार्यान्वयनको लागि दबाब सिर्जना गर्नका लागि सुदूरपश्चिम राजधानी कप दुई बर्षदेखि आयोजना हुदैं आएको छ । दोस्रो संस्करणको सुदूरपश्चिम राजधानी कपलाई जनरल ईन्सुरेन्स कम्पनी नेपालले मुख्य प्रायोजन गरेको थियो ।