बाढीको त्रासले सयौं विघा जमिन बाँझै!

टीकापुर– बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ। हरेक वर्ष बाढी आउने भएकाले भजनीको हुलाकी सडक आसपासका केही जमिन, ३, ५, ७, ८ लगायतका वडामा सयौँ बिघा जमिन बाझो राखिएको किसान बताउँछन्। बाढीको समस्या झेल्दै आएका भजनीका किसानले चैते धान खेती गर्छन्। बर्सातमा अधिकांशका खेत जलमग्न हुने, तलाउजस्तै भरिने भएकाले पनि धेरैले खेती गर्दैनन्। विगतमा खेती गर्नेले समेत यस वर्ष खेती गर्ने आँट गरेनन्।

भजनीका हरिबहादुर चौधरीले गत वर्ष निकै मेहनत गरेर धान खेती गरेका थिए। कात्तिक २ गते आएको बाढीले हरिबहादुरको २ बिघा काटेर खेतमै थुपारेको धान बाढीमा मिसियो। ‘गत वर्ष धानको दाना देख्न पाइएन, त्यसैले यस वर्ष २ बिघा जमिन बाँझो राखेको छु,’ हरिबहादुर भन्छन्, ‘ममात्र होइन मेरा छिमेकीले पनि यस वर्ष धान रोपेनन्, हामीले चैते धान खेतीमात्र गर्‍यौँ, विगतमा दुई पटक धान रोप्ने गरिन्थ्यो।’

Navadurga sun

खेती गर्दा बढी खर्च लाग्ने तर उत्पादन पाउने ठेगान नभएको र सरकारले समेत क्षतिपूर्ति थोरै दिने भएकाले खेती नगरेको किसान मानबहादुर साउँद बताउँछन्। ‘मेहनत र लगानी चाहिन्छ। एक बिघामा धान खेती गर्न रु ५० हजारसम्म खर्च हुन्छ तर बाढीले उत्पादन पाउने ठेगान नभएपछि यस वर्ष धेरैले खेत बाँझो राखे,’ उनले भने, ‘यस वर्ष करिब एक हजार बिघा जमिन बाँझो देखिन्छ। यहाँका किसानलाई जग्गा भएर पनि समस्या छ। खेती लगाउन पाए पो उत्पादन हुन्छ, उत्पादन भए पो पेट पाल्न, खर्च चलाउन सहज हुन्छ।’

भजनीकै बलबहादुर बुढा पनि बाढीका कारण खेती स्याहार्न नमिल्ने भएकाले यहाँका किसानले खेत बाँझै राखेको बताउँछन्। ‘हुलाकी सडक आसपासका किसानले खेतमा पस्ने आँट गरेनन्,’ बलबहादुरले भने, ‘अहिले भजनीका अधिकांश किसानका खेत तलाउजस्तै देखिन्छन्। विगतमा खेती गर्न मिल्ने जमिन पनि यस वर्ष बाँझै राखिएका छन्।’

भजनी नगरपालिकाका कृषि शाखा प्रमुख कमल चौधरी डुबान क्षेत्रमा खेत बाँझो राख्नुपर्ने बाध्यता रहेको बताउँछन्। ‘यहाँ कति जमिन बाँझो राखिएको भन्ने तथ्याङ्क हामीले राखिसकेका छैनौँ, तर अधिकांशका जमिन बाँझो छन्,’ चौधरीले भने, ‘पानी बढी जम्ने र डुबान हुने जोखिम रहेका जमिनमा धान रोपिएको छैन। विकल्पका रुपमा यहाँका किसानले चैते धान खेती गर्छन्।’

चौधरी भजनीमा किसानलाई सघाउने विभिन्न कार्यक्रम भएको बताउँदै खल्ला खेत (पानी बढी हुने) का लागि पालिकाले चैते धानलाई प्रोत्साहन गर्ने गरेको बताउँछन्। ‘यहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुख्यमन्त्री कार्यक्रम, ब्लक प्रदर्शन, कृषि औजार सहयोगजस्ता कार्यक्रम गरिरहेका छौँ,’ चौधरी भन्छन्, ‘त्यसैले हामीले पनि चैते धानलाई बढी प्रोत्साहन गर्छौं। यहाँका धेरै किसानले चैते धान खेती गर्नुहुन्छ।’ भजनीमा गत वर्ष आएको बाढीले तीन हजार हेक्टरमा लगाएको धान बाली बगाएको कृषि शाखाले जनाएको छ।रासस

 

ADD Khali jpg
ADD Khali jpg
Loading...