


बझाङ- जिल्लाको केदारस्युँ गाँउपालिका र जयपृथ्वी नगरपालिकाका केही विद्यालयहरुमा बालमैत्री तथा भूकम्प प्रतिरोधात्मक विद्यालय भवनहरु निर्माण गरिएका छन्। वर्ल्ड भिजन इन्टरनेशनल र प्रगतिशील युवा समाजको साझेदारी, स्थानीय सरकारको समन्वय र स्थानीयहरुको सहयोगमा भवन अभाव भएका विद्यालयमा बालमैत्री र भूकम्प प्रतिरोधात्मक २ कोठे भवनहरु निर्माण गरिएका हुन्।
जयपृथ्वी नगरपालिका वडानम्बर ८ मा रहेको जालपा आधारभूत विद्यालय जोशीगाँउ, नवादेउ आधारभूत विद्यालय ग्वानी, युवा वर्ष आधारभूत विद्यालय सेलाखेतका साथै वडानम्बर ११ मा रहेको निलकट्टी माध्यमिक विद्यालय दैकुमला र केदारस्युँ गाउँपालिकाको वडानम्बर ८ मा रहेको नवादेव आधारभूत विद्यालयमा संस्थाले सुविधासम्पन्न बालमैत्री र भूकम्प प्रतिरोधात्मक भवनहरु निर्माण गरिदिएर हस्तान्तरणसमेत गरेको छ।
त्यसैगरी जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकाका विभिन्न विद्यालयहरुमा अपाङ्गमैत्री शौचालयहरू समेत निर्माण गरिएको र आगामी दिनमा तिनीहरुको संरक्षण हेरचाह गर्नुपर्ने र भौतिक संरचना निर्माण गर्नु ठूलो कुरा नभएर बालबालिकाको गुणस्तरीय शिक्षामा सबैले ध्यान दिनुपर्नेमा प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए।



