


धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक संचालनका लागि सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले उपमहानरपालिकालाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । उपमहानगरपालिकामा बुधवार एक कार्यक्रमका बिच सामाजिक विकास मन्त्री गोबिन्दराज बोहराले नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानालाई उपकरण हस्तान्तरण गरेका छन् ।



उपमहानगरपालिकाले साउन १ गतेदेखि विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक संचालन गर्न लागेको छ । केही दिन अघिमात्रै सरकारले नगर प्रमुख हमालका लागि उपलब्ध गराएको गाडी हमालले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक संचालनका लागि स्वास्थ्य शाखालाई प्रदान गरेका थिए ।
मन्त्रालयले अल्ट्रासाउन्ड मेसिन, मोबाइल ल्याब र इसिजी मेसिन गरेर २५लाख ५३ हजार रुपैया बराबरको उपकरण उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ।


हस्तान्तरण कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री बोहराले शिक्षा र स्वास्थ्यमा मन्त्रालयको विशेष रुपले लगानी गर्ने उद्देश्य अनुसार नै उपकरण वितरण गरेको बताए । आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रका लागि आवश्यक पर्ने उपकरणहरु सहयोग गर्न तयार रहेको उनले बताए । स्वास्थ्य क्षेत्रमा सबै जनताको पँहुच पुगाउनका लागि मन्त्रालयले निःशुल्क स्वास्थ्य बिमाको प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै उपप्रमुख कन्दकला रानाले गरीबीबाट माथि उठ्न नसकेकाहरु लागि वडा स्वास्थ्य क्लिनिक सञ्चालनमा आउँदा धेरै जनता लाभावित हुने बताइन् ।
कार्यक्रममा बोल्दै नगरप्रमुख हमालले मन्त्रालयको उद्देश्य र उपमहानगरपालिकाको उद्देश्य एउटै भएकाले मिलेर अगाडि बढन सक्यौ भने जनताले दुवै सरकारको अनुभूति पाउने बताए । उपमहानगरपालिकाले पनि एउटा अस्पताल सञ्चालनमा ल्याउने तयारी गरिरहेको उनले बताए । उपमहानगरपालिका प्रदेश सरकार सँग सहकार्य र समन्वय गरेर अगाडि बढ्न तयार रहेको उनको भनाइ छ ।





