

धनगढी, २८ असार– नेपालभर लागुऔषध प्रयोग तथा ओसारपसार गर्ने जिल्लामध्ये कैलाली चौथो नम्बरमा रहेको पाइएको छ। मंगलबार धनगढीमा सम्पन्न भएको लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उक्त तथ्यांक गृह मन्त्रालय लागुऔषध नियन्त्रण शाखाका प्रमुख गोकणर्प्रसाद उपाध्यायले सार्वजनिक गरेका हुन् ।


कार्यक्रममा धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमालले लागुऔषध प्रयोगकर्तालाई समुदायबाट छुट्याउनुपर्ने बताएका छन् । कैलालीको अवस्था भयावह रहेको र यस्तै अवस्था रहने हो भने युवाको भविष्य धरापमा पर्ने हमालले बताएका छन् । ‘लागुऔषधको कुलतमा फसेकाहरुलाई तत्काल समुदायबाट अलग्याई रिह्याब सेन्टरमा राख्नुपर्छ’ उनले भने, ‘सबै तहका सरकार तथा संस्थाहरु मिलेर यस विरुद्दको अभियानमा लाग्नुपर्छ ।’



धनगढी उपमहानगरपालिकाले पनि लागुऔषध नियन्त्रणबारे नीति ल्याएको उनले बताए । उपमहानगर सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गरेर लागुऔषध विरुद्दको अभियानमा लाग्ने मेयर हमालले बताएका छन् ।
कैलालीमा पनि टीकापुर नगरपालिकामा लागुऔषधका प्रयोगकर्ता सबैभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सोमेन्द्रसिहं राठौरले बताएका छन् । पहिलोमा टीकारपुर र दोस्रो नम्बरमा धनगढी उपमहानगरपालिका रहेको उनले बताएका छन् ।
लागुऔषध प्रयोगकर्ता प्रहरी नियन्त्रणमा रहेपनि त्यसको अवैध वितरण भारतबाट हुने भएकाले अनुसन्धान तथा नियन्त्रणमा चुनौति रहेको प्रहरी उपरीक्षक राठौरले बताए ।

